नागरिक उन्मुक्तिमा भाँडभैलो, फुटको संघारमा पुगेपछि बोल्नै चाहेनन् चौधरी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नागरिक उन्मुक्तिमा भाँडभैलो, फुटको संघारमा पुगेपछि बोल्नै चाहेनन् चौधरी


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा भाँडभैलो मच्चिएको छ । यतिबेला पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । नेताहरू कुट्नेदेखि पार्टीबाट निष्कासन गर्ने सम्मका घटना भएका छन् । नेताहरू कुट्नेदेखि पार्टीबाट निष्कासन गर्ने सम्मका घटना भएका छन् । 

संघीय सरकार र सुदूरपश्चिम सरकारको विषयमा आन्तरिक विवाद चर्कँदै जाँदा नाउपा फुटको संघारमा पुगेको हो । पार्टीका संस्थापक केन्द्रीय सदस्यको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संस्थापक रेशमलाल चौधरी पक्षबिच हात हालाहाल नै भयो ।

सम्बन्धित समाचार : नाउपा बैठकमा रेशम-रन्जिता पक्षबीच कुटाकुट

अध्यक्ष श्रेष्ठले संस्थापक रेशम पक्षधर दुई प्रदेश अध्यक्षलाई कारबाही गरेकी छन् । केन्द्रीय समिति बैठकमा सोमबार नेताहरूमाथि हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई पदमुक्त गर्दै पार्टीबाट निष्कासित गरेकी हुन् ।

केन्द्रीय कार्यालयमा बसेको बैठकमा श्रेष्ठ पक्षधर मानिएका कैलालीको टीकापुर नगरपालिकाका मेयरसमेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि रेशम पक्षधरका नेताहरूले कुटपिट गरेका थिए । उनीहरूको कारबाहीलाई लिएर संस्थापनपक्ष असन्तुष्ट छ ।

सम्बन्धित समाचार : नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित

पार्टीभित्रको विवाद यतिमा मात्र सीमित छैन । बुधबार अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा जवाफ नदिएकाले गिरीलाई हटाउने निर्णय लिएको श्रेष्ठले बताइन् । 

पार्टीका ७ मध्ये ५ सांसद सुदूरपश्चिम प्रदेश सरकारमा छन् । सरकारमा सहभागी अन्यलाई भने कारबाही गरिएको छैन । संस्थापक रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वमा पठाए लगत्तै अध्यक्ष श्रेष्ठले सरकारबाट फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।

सम्बन्धित समाचार : राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउने अध्यक्ष श्रेष्ठको निर्णय

अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन् । तर, संस्थापक रेशमले विश्वासको मत दिन भनेका छन् ।

पार्टीको विवाद उत्कर्षमा पुगेपछि छिनोफानो गर्न भन्दै संस्थापक पक्षले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक डाक्यो । अध्यक्ष श्रेष्ठ पक्षलाई लक्षित गर्दै पार्टीमा गलत काम गर्नेलाई उक्त बैठकले कारबाही गर्ने भन्दै रेशम पक्षले बैठक डाकेको हो । तर, चैत २३ र २४ मा डाकिएको उक्त बैठक आधिकारिक नभएको अध्यक्ष श्रेष्ठले बताएकी छिन् । अध्यक्ष श्रेष्ठ र संस्थापक रेशमपक्ष एक अर्कालाई कारबाहीमा उत्रिएका छन् ।

कुटाकुटको घटनापछि पार्टीका संस्थापक रेशमले कसैको पेवा नरहेको र चैत २३ र २४ मा बस्ने केन्द्रीय समिति बैठकले गर्ने निर्णय सबैले स्विकार्ने बताएका छन् । विवाद साम्य नभए शुक्रबारको बैठकले अध्यक्षलाई हटाएको निर्णय गर्ने सम्भावना छ । यसको तयारीमा संस्थापन पक्ष जुटेको छ । तर, केही समयअघि सम्पन्न महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक ठहराएकोले उक्त निर्णयले आधिकारिता पाउने सम्भावना छैन ।

आयोगको निर्णयको ४ नं. बुँदामा अबदेखि यस्ता कार्य नगर्न पार्टीलाई सचेत गराएको छ । तर, आयोगको निर्णयको बेवास्ता गर्दै संस्थापन पक्षले बैठक डाँकको थियो । पार्टीमा नभएको महासचिव पद राखेर पार्टीको लेटर हेड दुरुपयोग गरेर बैठक डाकिएको हो । उक्त बैठकलाई अध्यक्षले मान्यता नदिएपछि संस्थापन पक्ष सङ्कटमा परेको छ । 

सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् ,‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’

रेशमले आफू नै पार्टीको अध्यक्ष भएको दाबी गर्ने गरेका छन् । पार्टी अध्यक्षमा श्रेष्ठ रहे पनि अप्रत्यक्ष रूपमा रेशमले नै पार्टी चलाउँदै आएको उक्त दलका नेताहरूको भनाइ छ । 

निर्वाचन आयोगको निर्णयबाट पार्टीमा आफ्नो अधिकार खोसिएको र अध्यक्षमाथि मनोमानी गर्न नसकेपछि विक्षिप्त बनेका रेशमले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको प्रतिक्रिया दिनसम्म भ्याएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् । 

सम्बन्धित समाचार : पार्टीभित्रको विवादले तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थिति छ : रेशम चौधरी

पार्टीको विवाद साम्य पार्न नसकेका उनले सत्तारुढ दलका केही नेताहरूले पार्टीलाई विवादित बनाएको आरोप लगाएका छन् । पार्टीभित्र देखिएको विवादबारे बुझ्न खोज्दा संस्थापक चौधरी बोल्न चाहेनन् । त्यसो त अध्यक्ष श्रेष्ठ र संस्थापक रेशम श्रीमान्–श्रीमती हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस