पूर्णबहादुर खड्काले भने-निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुँदैन  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्णबहादुर खड्काले भने-निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुँदैन 


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरूको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् ।

आज (शनिवार) त्रिभुवन पार्कमा नेपाल निजामती कर्मचारी युनियनले गरेको वनभोज कार्यक्रममा बोल्दै उपसभापति खड्काले संसद्‌मा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी पारित गरिने बताए ।

‘ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीको तर्फबाट कुनै कसर रहने छैन,’ उपसभापति खड्काले भने,’यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।’

संसद्‌को ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्नेछ,’ उपसभापति खड्काले भने,’म संसद्को ठूलो दलको हिसाबले नेपाली काँग्रेसले सबै कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकासको सुनिश्चित हुने गरी विधेयक पास गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्दछु ।’

सरकार पुनर्गठनअघि काँग्रेसकातर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री रहेका खड्का निजामती विधेयकको मस्यौदालाई अन्तिम रूप दिन गठित समितिका संयोजक थिए । सोही समितिले सबै सरोकारवालासँग छलफल गरेको विधेयक संसद्‌मा पुगेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस