काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन महिनाभित्र श्रम क्षेत्रलाई पूर्ण रूपमा व्यवस्थित गर्ने दाबी गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ ९नं. ८१०’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो जानकारी दिएको हो । पछिल्लो तीन महिनामा वैदेशिक रोजगार र श्रम निरीक्षणको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरे ।
मन्त्री यादवका अनुसार देशका ११ वटा श्रम कार्यालयमार्फत भइरहेको श्रम निरीक्षणको कार्यमा ५९ प्रतिशतले वृद्धि भएको छ । आफ्नो कार्यभार सम्हाल्नु अघिको ९ महिनामा १ हजार ९ सय ९१ वटा निरीक्षण भएकोमा, पछिल्लो तीन महिनामा मात्रै १ हजार ३२१ वटा निरीक्षण सम्पन्न भएको उनले बताए ।







