उत्पादन र रोजगार केन्द्रित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उत्पादन र रोजगार केन्द्रित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ,’अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’

बैठकमा प्रधानमन्त्रीले संकटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, ‘संकटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटमा नयाँपन दिनुपर्छ ।’

सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देख्ने खालको बजेट आवश्यक भएको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए । यसका लागि सम्पूर्ण गृहकार्य गर्न र राजस्व बढाउने नयाँ कार्ययोजना सहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस