सिंहदरवारका कर्मचारी ओसार्न बस खोज्दै अर्थ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सिंहदरवारका कर्मचारी ओसार्न बस खोज्दै अर्थ


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयले सिंहदरवार र आसपासका सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव मागेको छ । मन्त्रालयले विभिन्न शर्तको अधिनमा रहेर दैनिक दुई पटक ओसारपसार गर्ने गरी एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन गर्न इच्छुक यातायात व्यवसायीसँग प्रस्ताव मागेको हो ।

यातायात व्यवसायीले आफूले दिने सेवाको विवरणसहित सिलबन्दी दर भाउपत्र पेश गर्नुपर्ने छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० सिट क्षमता भएका नयाँ मोडेलका २ वटा बस सञ्चालन गर्ने तयारी भएको हो ।

मन्त्रालयका अनुसार सामान्यतया एकीकृत कर्मचारी परिवहन सेवा दिनमा २ पटक (बिहान कार्यालय समयभन्दा १५ मिनेट अगाडि (९.४५ बजे) सिंहदरवारको दक्षिण ढोकामा आइपुग्ने र बेलुका कार्यालय समयभन्दा १५ मिनेट पछि (नियमित ५.१५ बजे र शुक्रबार ३.१५ बजे) बस छुट्ने गरी व्यवस्था मिलाउनु पर्नेछ । एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन सम्झौताको अवधि एक वर्षको हुने मन्त्रालयले जनाएको छ ।

यी बसहरूमध्ये एउटा सिंहदरबार-शहिदगेट-त्रिपुरेश्वर-कालिमाटी-कलंकी-नागढुङ्गा-कलंकी-स्वयम्भू-टंकेश्वर-कालिमाटी-त्रिपुरेश्वर-थापाथली-सिंहदरबार रुटमा चल्नेछ । अर्को बसका लागि सिंहदरबार-नयाँबानेश्वर-कोटेश्वर-बालकुमारी-सातदोबाटो-लगनखेल- एकान्तकुना-जावलाखेल-पुल्चोक-कुपन्डोल-सिंहदरबार रुट तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस