विकल र सुनिल पौडेल पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विकल र सुनिल पौडेल पक्राउ


१० माघ २०८०, बुधबार


काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेल पक्राउ परेका छन् ।

गैर कानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाएसँगै भागेका पौडेलद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पक्राउ गरेको हो । विकल जनवरी २० मा दुबैबाट फ्लाई दुबईको फ्लाइटबाट त्रिभुवन विमानस्थलमा उत्रिएसँगै आयोगको टोलीले निगरानी बढाएको थियो ।

यसअघि दुवै जनामाथि भ्रष्टाचार मुद्दा दायर भइसकेको अवस्थामा गैर कानुनी सम्पत्ति आर्जनको उजुरीसमेत परेसँगै बयानका लागि बोलाइएको थियो । उनीहरू लुकेर बसेसँगै अख्तियारको निगरानीमा थिए । पछिल्लो पटक विमानस्थलबाट पक्राउ गर्न खोजे पनि फुत्किएका थिए । 

सम्बन्धित समाचार : अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका 

दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी रहेको अख्तियार स्रोतले जनाएको छ । 

उनीहरू दुवै जनाबाट प्रमाण नष्ट गर्ने जोखिम उच्च रहेकाले पक्राउ गरेको केही समयपछि आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार उनीहरू दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृति विना नै विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेका थिए ।

दुवै जनाले सरकारी सेवामा कार्यरत रहेको अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा नियुक्ति लिएर काम गरेका थिए । विकल पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र(ग्रिन कार्ड) लिएको अख्तियारले जनाएको छ ।

विज्ञप्तिमा भनेको छ, ‘निजहरूले कसुर सम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले जरुरी पक्राउ पुर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ ।’

आयोगको टोलीले मण्डिखाटारस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरेको हो । 

२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई करोडौँ नोक्सानी पुर्‍याएको आरोपमा पौडेलसहितका विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको थियो ।

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

त्यसैगरी २०८० वैशाख ३ मा विकल पौडेलसहितका व्यक्तिविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबीसहित अख्तियारले मुद्धा दायर गरेको थियो ।

सम्बन्धित समाचार : मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस