अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका 


५ पुस २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको खोजीमा रहेका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतको कागज देखाएर दुबई उडेका छन् । स्रोतका अनुसार पौडेललाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीलाई अदालतको कागज देखाएर दुबई उडेका हुन् । 

उनी त्रिभुवन विमानस्थलबाट अवुधावी हुँदै अमेरिका जान लागेको सूचना पाएपछि अख्तियारको गोप्य निर्देशनमा प्रहरी टोलीले विमानस्थलबाट पक्राउ गर्न खोजेको थियो । ‘उनको ४ बजे एयर अरवीयाको अबुधावीको फ्लाइट थियो’ विमानस्थल प्रशासन विशेष स्रोतले भन्यो, ‘पक्राउ गर्न खोज्दा अदालतको अनुमति देखाएपछि उनी उडे’  । ४ः१४ को फ्लाइट डिले देखाए पनि पछि समयमै उडेको भेटिएकोले उनी ठुलै ‘सेटिङ’ मिलाएर भाग्न सफल भएको ती स्रोतले बताए । 

भ्रष्टाचार मुद्दामा पौडेलमाथि अख्तियारले एउटा मुद्दा दायर गरिसकेको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहँदा पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्क खरिद कार्यमा भष्ट्राचारको गरेको आरोपमा पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । 

सम्बन्धित समाचार : मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी अर्को फाइल (चाहिने भन्दा बढी सामान किनेर थन्क्याएको) बारे बयानका लागि उनीसहित अर्का एक जना गरी दुई जनालाई बोलाएकोमा उपस्थित नभएपछि अख्तियारले खोजी रहेको थियो । नेपाल आएको छ भन्ने सूचना पछि निगरानीमा राखेका विकल सुटुक्क यूएस भाग्न खोजेपछि अख्तियारले एयरपोर्टबाटै पक्राउ गर्न खोजेको थियो । 

प्रविधिसँग सम्बन्धित ठुला खरिद काण्डमा कुनै न कुनै रूपमा विकलको संलग्नता रहेको बताइँदै आइएको छ । सबैतिर सेटिङ मिलाउन माहिर उनी प्रमुख आयुक्त प्रेम कुमार राई अमेरिका भएको मौका छोपी विदेशसमेत उड्न सफल भएका छन् ।

उनी पक्राउबारे अख्तियारसँग बुझ्न खोज्दा प्रवक्ता नरहरि घिमिरेले आफूलाई थाहा नभएको र अदालतलाई नै सोध्न जवाफ फर्काए ।  

Tags :
प्रतिक्रिया दिनुहोस