काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।

काठमाडौँ महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो  । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न भनेका थिए । अन्ततः अधिकारीको सरुवा आयोगमा भएको हो । 

युवा तथा कान्छा सहसचिव परियारका लागि यो निकै राम्रो अवसर पनि हो भने त्यतिकै चुनौती पनि छ । संघीय राजधानीस्थित ठुलो महानगरका रूपमा रहेको काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदलाई निकै महत्वका साथ हेरिने गरिन्छ । जहाँ जानका लागि निकै दौडधुप चल्दै आएको छ । अन्य पालिकाहरूका लागिसमेत सिकाई हुने गरी काम गर्नुपर्ने एकातिर छ भने मेयर साहको सपनालाई कार्यान्वयन गर्नु अर्कातिर ।

यसका साथै संघीय सरकारसँगको समन्वयदेखि महानगरकै कर्मचारीदेखि जनप्रतिनिधिहरू सबै पक्षलाई मिलाएर अघि बढ्नु पर्ने अर्को ठूलो चुनौती छ । तर मेयर साहकै रोजाईमा उनी त्यहाँ गएकोले लय मिलाएर अघि बढ्न सके उनका लागि ठूलो अवसरसमेत हुनेछ ।

त्यसो त बालेनले यसअघि नै परियारको नाम रोजेको बताइँदै आइएको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बसन्त अधिकारी त्यहाँ पुगेका थिए ।

सहसचिव परियारको महानगर इन्ट्री सबै युवा सहसचिवको क्षमता प्रमाणित गर्ने अवसरका रूपमा हेरेका छन् सहकर्मीहरूले ।

मेयर साहको युवा प्रमुख प्रशासकीय अधिकृतको रोजाइले यति बेला सार्थकता पाएको छ । जसलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने महानगरले गति लिनेमा आशावादीसमेत देखिन्छन् । तर, कतिपय निर्णायक अवस्थामा अनुभवको आवश्यकता पनि त्यति नै पर्ने भएकोले सो अवस्थामा भने सुझबुझपूर्ण तवरले निर्णय गर्दै अघि बढ्नु त्यतिकै अपरिहार्य रहन्छ ।

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर महानगर चर्चामा रहेको थियो ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्‍यो’  

सम्बन्धित समाचार : काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा महानगरले लगायो ताला

सम्बन्धित समाचार : काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको गाडी खोसियो 

यसैबिच अबको प्रमुख प्रशासकीय अधिकृत को भन्ने विषयमासमेत परिचर्चा हुने गरेको थियो । र, पछिल्लो चरणमा आधा दर्जन जति सहसचिवहरू महानगरको रेसमा थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस