काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी खोसिएको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण प्रकरणमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाडी मगाउँदा नपठाइए पछि यसअघि नै उनको सवारी खोस्ने निर्णय भएको महानगर स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
‘प्रशासकीय अधिकृत अधिकारीले चालकलाई गाडी लिएर आउ भनेर बोलाएका रहेछन्’ ती स्रोतले भने, ‘चालकले महानगरमा सोध्दा नजानुस् भनेसँगै सवारी खोसेको कुरा बाहिर आएको हो ।’ कार्यपालिका बस्नु अघि नै अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेदेखि सवारी खोस्ने निर्णय भएको भए पनि मगाएपछि मात्रै खुलासा भएको ती स्रोतको भनाई छ ।
महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए भने तीन कर्मचारीलाई निलम्बनमा छन् ।
सम्बन्धित समाचार : काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन
कार्यपालिकाकै निर्णयमा कैफियत भेटिएपछि क्रुद्ध बनेका मेयर बालेनले उनलाई थुन्नसमेत भनेका थिए ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्यो’
गल्ती स्विकार्दै अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर(सही) गराइएको प्रशासनसँग बताएका थिए । नगरप्रमुख बालेन्द्र साह(बालेन)को सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई वटा पानामा फरक–फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनको भनाई थियो ।
सम्बन्धित समाचार : काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’
समितिले छानबिन गरिरहँदा महानगर फर्किन खोजेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा महानगरले लगायो ताला
कार्यपालिकाको निर्णय प्रमाणीकरणको घटना बाहिरिएसँगै प्रमुख प्रशासकीय अधिकृत अधिकारीको चौतर्फी आलोचना शुरु भएको छ । छानबिन नसकिउन्जेल कार्यालय फर्किन खोज्नुलाई थप चलखेल गर्ने नियत देखिएको भन्दै महानगरकै कर्मचारीहरूबाट कुरा काट्न थालिएको छ ।