काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’


१९ पुस २०८०, बिहिबार


बसन्त अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर(सही) गराइएको बताएका छन् । नगरप्रमुख बालेन्द्र साह(बालेन)को सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई वटा पानामा फरक-फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनले बताए ।

प्रशासनसँग अधिकारीले भने, ‘कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्ने जिम्मा मेरो हो । मेयरको सचिवालयमा काम गर्ने कर्मचारीले निर्णय प्रमाणीकरण गर्न ल्याउँछन् । निर्णय बनाएर ल्याउने क्रममा भगवती विडारीले आफ्नै छोरीको नाम राखेकी रहिछन् । स्वास्थ्य विभागले ल्याएको फायल प्रमाणीकरण गर्ने बेला मैले पहिलो पाना हेरेको हो । जहाँ पाँच जनाको नाम छ । प्रमाणीकरण गर्ने क्रममा दोस्रो पानामा मैले निज कर्मचारीहरूको कार्यसम्पादन स्तरको मूल्याङ्कन गरेर मात्र म्याद थप्नु भनेर लेखेको हो । उनले अगाडीको पानामा पाँच जना लेखेकी रहिछन् । दोस्रो पानामा ६ जनाको नाम रहेछ ।’ यसबारे आफूले बयान दिई सकेको उनले बताए । 

अधिकारीका अनुसार कार्यपालिकाको आधिकारिक रजिस्ट्रारमा पनि पाँचै जनाको नाम टाँसिएको छ । ‘मैले सही गरेको पाना विडारीले नगरप्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपानेलाई देखाइछन् । अनि नुरनिधिले कार्यकारीले सही गर्‍यो, तपाईँको छोरीलाई जागिर खुवाउने हो भनेका रहेछन् । बयानमा विडारीले भनेकी छन्,’ अधिकारीले भने, ‘छोरी तीन महिनादेखि इन्टर्नमा रहिछन् । सचिवालयमा को-को बस्छन् थाहा भएन ।’

वरिष्ठ शाखा अधिकृत भगवती बिडारी करिब नौ वर्षदेखि नगरप्रमुखको सचिवालयमा कार्यरत छिन् । घटना पछि न्यौपाने र विडारीसँग बयान लिएको उनले जानकारी दिए । ‘नुरनिधिले मैले कार्यकारी र मेयरलाई भन्छु भन्दै विडारीलाई उकासेछन्, कार्यपालिकाको आधिकारिक निर्णय यही हो भनेर प्रतिलिपि प्रमाणित गर्ने जिम्मा नुरनिधिको हो । उनले त्यही ६ जनाको नाम भएको पठाएछन्,’ अधिकारीले भने । 

आफूले कार्यसम्पादन स्तरको मूल्याङ्कन गरेर मात्र काममा लगाउने लेखेपछि पाँच जना भन्दा बढीले जागिर खानै नपाउने अधिकारीले बताए । ‘शुक्रवारको घटना पछि नुरनिधिलाई बोलाएर सोधको थिए । मैले पुण्यको काम गर्न खोजेको हो भन्ने जवाफ दिए । मेयरसँगको सल्लाह अनुसार तीनै जनालाई हामीले निलम्बन गरेका हौँ,’ उनले भने । न्यौपाने र विडारीसँगै स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल पनि निलम्बनमा परेका छन् ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन

बयानमा विडारीले पहिले झुक्काए पनि पछि जुन आधिकारिक निर्णय हो त्यही टाँसेको बताएकी छन् । नगरप्रमुख शाहसँग आफ्नो निरन्तर कुराकानी भइरहेको अधिकारीले जानकारी दिए । ‘झुक्काएर सही गराएको देखियो । आधिकारिक निर्णय अहिले पनि रजिस्ट्रारमा छ । नुरनिधिले गलत पाना पठाए । सचिवालयले गलत गरेको विषय हो,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘१६ महिना काम गरियो, इमान्दार भएर काम गरेको उपहार हो मेरो लागि । निमित्त दिने गरेको मान्छे नुरनिधि नै खराब निस्किए ।’ नुरनिधि दसौँ तहका कर्मचारी हुन् ।

आफूलाई झुक्काउने कर्मचारीलाई कारबाही गरेको उनले बताए । ‘मेरो गल्ती भए आजै राजीनामा दिन्छु । मलाई झुक्काएको कर्मचारीलाई मैले कारबाही गरेको छु,’ उनले भने, ‘नखाएको विष लाग्यो ।’

जुन विषय बाहिर आएपछि मेयर साहले प्रमुख प्रशासकीय अधिकृतलाई नै बिदामा बस्न भन्दै छानबिन समिति बनाएका थिए । उनी त्यतिमा मात्रै सीमित रहेनन्, गृहमन्त्रीलाई फोन गरेर तत्काल पक्राउ गर्नसमेत भने । केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई भेटेर आफ्नो प्रशासकीय अधिकृतलाई सरुवा नगर्न भनेका बालेनले एकाएक थुन्नेसम्मको कुरा आएसँगै आफू अचम्मित परेको मन्त्रालयका एक सहसचिवले बताए । ‘आफ्नै सचिवालय प्रमुखसमेतलाई नछोडेका बालेनले गल्ती भेटाएपछि कसैलाई छोड्दैन है भन्ने बुझ्न पर्‍यो’, ती सहसचिवले भने । 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्‍यो’  

यसबारे नुरनिधि र भगवतीसँगै कुरा गर्न खोज्दा नुरनिधिसँगको मोबाइल अफ थियो भने भगवती फोन उठाइनन् । दुई दिनसम्म लगातार फोन गर्दासमेत दुबैसँग सम्पर्क हुन सकेन । 

के हो घटना ? 
कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा निर्णय प्रमाणीकरण गर्दा छ जना उल्लेख गरेको भेटिएसँगै मेयर बालेन शाहले ‘कसरी यस्तो भयो ?’ भन्दै एक्सन लिएका थिए ।

महानगर स्रोतका अनुसार डु मोन्ड फ्रान्सको आर्थिक सहयोगमा चलिरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनको लागि भएको सम्झौता समाप्त भएसँगै सेवालाई निरन्तरता दिन ३० असोजमा बसेको कार्यपालिका बैठकले पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो, तर निर्णय लेखिँदा संख्या थप भएको भेटिएसँगै मेयर बालेनले छानबिन थालेका थिए ।

सो थाहा पाए लगत्तै आफ्नै सचिवालय प्रमुखसहित तीन जनालाई निलम्बन गरेका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारी बिदामा बस्न लगाउँदै छानबिन समितिसमेत गठन गरेका छन् । संख्या थप्दा वरिष्ठ शाखा अधिकृत बिडारीले आफ्नी छोरीको नाम उल्लेख गरी छ जना बनाएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि हस्ताक्षर देखिएपछि घटना सतहमा आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस