काठमाडौँ । सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सुरक्षाको विषयमा ग्यास उद्योगीहरूले अझै प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घको २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यसचिव डा. अर्यालले आफ्नै घरमा दुई पटक ग्यास सिलिण्डरबाट ग्यास लिकेज भएको बताए ।
‘ग्यासको सुरक्षा र गुणस्तरको विषयमा पहिलो प्राथमिकता राख्नु पर्छ । सुरक्षाको विषयमा उद्योगीहरू सचेत भई प्रभावकारी रूपमा भूमिका खेल्नु पर्ने जरुरी छ । तर, अहिले त्यो भएको जस्तो लाग्दैन,’ उनले भने, ‘मेरै घरमा दुई पटक सिलिण्डरबाट ग्यास लिकेज भयो । ग्यासको सुरक्षा र गुणस्तरलाई उद्योगले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’
उनले नेपाल आयल निगम जोगाउन पूर्ण स्वचालित प्रणाली कार्यान्वयन अति आवश्यक रहेको बताए । पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली लागू भए पनि ग्यासमा कार्यान्वयन गर्न नसकेको स्वीकार गरेका छन् । उनले खाना पकाउने ग्यासको तत्काल कुनै विकल्प नभएको पनि बताए ।