काठमाडौँ । नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले बेलायत महत्त्वपूर्ण भेटघाट गरेको छ ।
२७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन पुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न छन् ।
उक्त न्यायिक प्रतिनिधिमण्डललाई लन्डन हिथ्रोमा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे र दूतावासका अन्य वरिष्ठ कूटनीतिज्ञहरूले स्वागत गर्नुभएको थियो । बेलायत भ्रमणका क्रममा प्रधान न्यायाधीश राउतले २९ अप्रिलमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उनकै कार्यकक्षमा भेट गरे ।
सो भेटघाटका क्रममा दुई न्यायाधीशले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गरे । जसले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबीच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
सद्भावनापत्रले दुई देशका सर्वोच्च अदालत र न्यायिक प्रणालीबीच उत्कृष्ट अभ्यासहरू साझा गर्न र पारस्परिक सहयोग प्रवर्द्धन गर्न सम्बन्धित न्यायपालिकाहरूको पारस्परिक प्रतिविद्धतालाई सहयोग पुग्ने आशा गरिएको छ ।
उक्त भेटघाटमा नेपालका प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतले दिएका केही ऐतिहासिक फैसलाहरूमाथि प्रकाश पारेका थिए। संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष अल्लरमुइरले दुई देशबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै नेपालको न्यायिक क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिए ।
सद्भावना पत्रमा हस्ताक्षर नेपाल र बेलायतको न्यायिक इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा भएको प्रतिनिधिमण्डलको विश्वास छ । सो अवसरमा उनहरूले न्यायिक अभ्यास र अनुभवका विभिन्न पक्षमा छलफल गरेका थिए । न्यायिक अधिकारीहरूलाई तालिम दिने, कुशल न्याय प्रशासनको अनुभव साझा गर्ने, फैसलाको मस्यौदा तयार गर्ने र न्यायिक अभ्यासहरू जस्ता क्षेत्रहरूमा सहकार्य गर्न उनीहरू सहमत भएका छन् । उनीहरूले कानुनी शासन कायम राख्न सहयोग प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रधान न्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन-अन-द-हेलसँग दुई देशका न्यायिक संयन्त्रबीचको सहकार्यका सम्भावनाबारे छलफल गर्नुभएको थियो । प्रधान न्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गरे ।
भेटघाटका क्रममा दुई विशिष्ट व्यक्तित्वले संसद् र न्यायपालिकाबीचको सम्बन्धसहित पारस्परिक हितका विभिन्न द्विपक्षीय विषयमा छलफल गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
सोही दिन प्रधान न्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिंगेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रबुद्ध व्यक्तित्वहरूसँग भेट गरेका थिए ।
भेटमा उनीहरूले न्यायिक प्रणालीका विभिन्न आयाम र सहयोगका सम्भावित क्षेत्रहरूबारे छलफल गरे । प्रधान न्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिए, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि छन् ।
बैठकमा प्रधान न्यायाधीश राउतले कानुनी तर्क, वस्तुनिष्ठता, निष्पक्षता र न्यायप्रति अटल समर्पणको ब्रिटिस परम्पराको प्रशंसा गरे । उनले दुई देशका सर्वोच्च अदालतबीचको सद्भावना पत्रमा हस्ताक्षर गर्नुको महत्त्वलाई पनि प्रकाश पार्दै दुवै देशका न्यायपालिकाबीचको सम्बन्धलाई बलियो बनाउन र आपसी समझदारी र सहयोगलाई बढावा दिने लक्ष्य राखेको उल्लेख गरे ।
बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरले दुई राष्ट्रहरूबीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धमा थप जोड दिँदै सद्भावना पत्रले कानुनी परम्परा र न्यायिक प्रणालीको क्षेत्रमा सहकार्य बढाउने आशा व्यक्त गरे ।
राजदूत चन्द्रकुमार घिमिरेले दूतावासमा प्रधान न्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गरे । स्वागत समारोहमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसहित बेलायतको न्यायिक प्रणाली र समाजका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए ।
गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तक्र्रिया गरेको थियो ।
बेलायत बसाइको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमण समेत गरेको छ ।