काठमाडौँ। न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
स्वतन्त्र कानून व्यवसायी संघका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जना अधिवक्ताले रोल क्रममा अगाडि राखेर मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश बनाउने गरी २०८० असोज १ मा भएको उक्त संशोधन संविधान विपरीत भएको भन्दै रिट दायर गरेका हुन् ।
उक्त रिटमाथि वैशाख २४ गते बुधबार पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
न्याय परिषद्ले न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन २०८० को नियम ११ को खण्ड (ख) पछि खण्ड (ख) (१) र (ख) (२) थप गरेर सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतको न्यायाधीशमा नियुक्त हुँदा रोल क्रममा उच्च अदालतका मुख्य न्यायाधीशपछिको रोल क्रममा रहने व्यवस्था गरिएको थियो ।
त्यसै खण्डमा मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश भएकाको हकमा पहिले नियुक्त हुने व्यक्ति रोल क्रममा स्वतः माथि रहने व्यवस्था गरिएको थियो ।


