काम छाडेर अन्त नभुल्न कर्मचारीहरूलाई मन्त्रीको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काम छाडेर अन्त नभुल्न कर्मचारीहरूलाई मन्त्रीको निर्देशन


५ पुस २०८०, बिहिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्त्वपूर्ण काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आफू पुग्दा अधिकांश कर्मचारी नआइ पुग्ने गरेको प्रवृत्ति भेटिएपछि मन्त्री बस्नेतले बिहीबार मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीलाई डाकेर बैठक गरेका थिए ।

मन्त्री बस्नेतले जनताको कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन समेत आग्रह गरे । नीतिगत, कानुनी एवम् संरचनागत रूपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने समेत बताए ।

मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमित रूपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम सुरु गरेको भन्दै ऊर्जामा पनि सोही नियम लागु हुने जानकारी दिए ।

उनले विकास निर्माणको काममा परेको समस्या समाधानका लागि नीतिगत रूपमा गर्नुपर्ने सुधारहरु के के हुन्, वन क्षेत्र प्रयोगको विषयमा के कस्ता निर्णय गर्नुपर्ने हो र भूमि वा प्रसारणलाइन निर्माणमा देखिएका जटिलता के कस्ता हुन्, त्यसको स्पष्ट खाका प्रस्तुत गर्न समेत मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्री बस्नेतले बुधबार मन्त्रालयको आकस्मिक निरीक्षण गर्दा अधिकांश कर्मचारी अनुपस्थित भएका थिए । आफूले यस्तो निरीक्षण नियमित रूपमा गर्ने समेत उनको भनाइ छ । मन्त्री बस्नेतको निजी स्वकीय सचिवालयका तर्फबाट आजै मातहतका निकायहरू विद्युत् विकास विभाग, जलस्रोत तथा सिँचाइ विभाग, मौसम विज्ञान विभागमा समेत आकस्मिक छड्के गरेको छ ।

मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव गोपाल सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले कार्यशैली सुधार गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै कर्मचारीलाई सोही अनुसार गर्न गराउन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस