काठमाडौँ । जाजरकोट र पश्चिम रुकुम र आसपासको क्षेत्रमा गएको भूकम्पपछिको राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक सुरु भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूको बैठक सुरु भएको हो ।
शुक्रबार राति २३.४७ बजे(१२ बज्नु १३ मिनेट अगाडि) जाजरकोटको बारेकोट गाउँपालिका.१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेका छन्।
गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्।
ती जिल्लाका मेडिकल टिमहरूसमेत घटनास्थलमा पुगिसकेका छन्। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत घटनास्थलहरूमा पुगिसकेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र उपचारमा कुनै कमी हुन नदिन निरन्तर समन्वय गर्दै आवश्यक निर्देशन दिइरहेको र पछिल्लो अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको जानकारी नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरूले दिएका छन्।