काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण सरकारसँग मागेको छ ।
समिति सभापति रामहरि खतिवडाका अनुसार विवरण प्राप्त भएपछि त्यसको प्रयोग–दुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुनेछ ।
पिएओलाई घरायसी काममा लगाउने लगायतका प्रवृत्तिका विषयमा सार्वजनिक रूपमा समेत प्रश्नहरू उठिरहेको भनी वास्तविकता बुझ्न समितिले विवरण माग गरेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुराका अनुसार यही असोज ७ गते गृह मन्त्रालयलाई पत्र पठाएर १५ दिनभित्र पीएसओ र ड्राइभरको विवरण उपलब्ध गराउन भनिएको थियो । १५ दिनभित्र विवरण उपलब्ध नभएपछि असोज २३ गते समितिले पुनः पत्र पठाएर ताकेता गरेको छ ।