सन्दीप विरुद्ध बलात्कारको जाहेरी दिएकी बालिकालाई उपचार खर्च दिन आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सन्दीप विरुद्ध बलात्कारको जाहेरी दिएकी बालिकालाई उपचार खर्च दिन आदेश


११ असार २०८०, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको जाहेरी दिएकी बालिकालाई उपचार खर्च दिन जिल्ला अदालत, काठमाडौँले आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट रकम दिन आदेश दिएको हो। गौशाला-२६ का नामले जिल्ला अदालतमा चलिरहेको मुद्दामा क्रिकेटर लामिछानेले बालिकालाई बलात्कार गरेको अभियोग छ।

यस मुद्दामा जिल्ला अदालत, काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, उच्च अदालत, पाटनले लामिछानेलाई धरौटीमा छोडेको थियो।

काठमाडौँ उपत्यका छोड्दा प्रशासनको अनुमति लिनुपर्ने, विदेश जान नपाइने जस्ता सर्तसहित लामिछाने छुटेका थिए। तर, सर्वोच्च अदालतले भने उच्च अदालतले लगाएको प्रतिबन्ध समेत फुकुवा गरेर क्रिकेट खेल्न विदेश जाने अनुमति समेत दिएको थियो।

सर्वोच्चको त्यही आदेशमा पीडितलाई अन्तरिम राहत दिन भनेको थियो। अहिलेसम्म यसको कार्यान्वयन भएको थिएन। यो मुद्दाको अन्तिम फैसला भएको छैन।

गत भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस