तनहुँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रास्वपा गृह मन्त्रालय पाए फेरि सरकारमा जाने टिप्पणी गरेका छन् ।
उपनिर्वाचनमा तनहुँ १ बाट काँग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले तनहुँवासीले उनीहरूलाई विगतमा किन सरकारमा गएको, किन बाहिरिएको र गठबन्धन बदलेर राष्ट्रपतिमा किन रामचन्द्र पौडेललाई मत दिएको भनेर प्रश्न गर्नुपर्ने बताए ।
नयाँ आउनुभएको साथीको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने रह्यो’ उनले भने, ‘तनहुँवासीले प्रश्न गर्नुपर्छ । पुष्पकमल दाहाल र केपी ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको, केही दिनपछि गठबन्धनबाट किन निस्केको, केही दिनपछि नयाँ गठबन्धनमा राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ? अहिले सरकारबाहिर किन बसेको ?’
तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले काँग्रेसलाई दाजु भाउजूको पार्टी भन्नेले फेरि यही सरकारमा सहभागी हुने बताए ।
उनले भने, ‘कतिपय साथीले नेपाली काँग्रेस पार्टी दाजु भाउजूको पार्टी भयो भन्नुभयो, म चुनौतीका साथ भन्छु उपनिर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले नयाँ पार्टीलाई तपाईँलाई म गृह मन्त्रालय लगायतका मन्त्रालय दिन्छु भन्यो भने नयाँ पार्टी सरकारमा आउँछ कि आउँदैन ? आउँछ । त्यो बेला दाइसँग बस्दिन भाउजूसँग बस्दिन भन्छ ? त्यो बेला दाइ पनि कति राम्रो भाउजू पनि कति राम्रो भन्छ । तपाईँलाई परेको बेला दाइ पनि ठिक, तपाईँलाई माफी दिए भाउजू पनि ठिक, तपाईँले भनेको मन्त्रालय प्राप्त भएन भने सबै बेठीक यही हो नयाँ पार्टी ? यही हो नयाँ चाला ? झापाबाट निर्वाचित भएर आएको विश्वप्रकाश शर्मा निर्वाचन हार्दै गरेको गगन थापाको प्रस्तावक बस्दै गर्दा ५ वर्ष मन्त्री हुँदिन भन्ने थाहा थिएन ? तनहुँको प्रदीप पौडेल, जो काठमाडौँबाट निर्वाचित भएको छ, गगन थापाको समर्थन बस्दै गर्दा मुखमै आएको मन्त्री बन्ने अवसरबाट बञ्चित हुन्छ भन्ने थाहा थिएन ? थाहा थियो । म पनि चुनाव लडेँ, विश्वप्रकाश, प्रदीप, बद्री पाण्डे लगायतका साथीहरु मेरो वरिपरि उभिनुभयो । एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथेँ । मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, समर्थक बस्न प्रदीप पौडेल आउन्दैनथे । कहिले काँही साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको । मलाई भन्न मन लाग्छ मैले त जागिर नखाएको, तिमीले जागिर खाएर छोडेर आएको । मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’