गृह रास्वपालाई नदिनेमा प्रधानमन्त्रीको अडान कायमै  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गृह रास्वपालाई नदिनेमा प्रधानमन्त्रीको अडान कायमै 


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय तत्काल नदिने अडानमा कायमै छन्।

प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने उनी निकट स्रोतले बताएको छ । 

‘प्रधानमन्त्रीले अहिले कसैलाई गृहमन्त्री बनाउनुहुन्न। पहिलो कुरा सर्वोच्च अदालतको पूर्णपाठ आउनुपर्छ, दोस्रो राहदानीबारे पनि टुङ्गिनुपर्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘रविजी गृहमन्त्री बन्ने भएकाले एउटा परिस्थितिमा उहाँलाई बनाइएको हो। तर अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गृह मन्त्रालयबारे बाहिर आएजस्तै धारणा प्रधानमन्त्रीको रहेको बताए। 

बिहीबार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको थियो।

त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन उसले माग गरेको थियो। गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने उसको निर्णय छ।

रास्वपाले निर्णय गरेको भोलिपल्ट संयन्त्रको बैठक बस्न सकेन। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच फोनमा संवाद भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस