सावधानी अपनाएर मात्रै निर्वाचनमा बल प्रयोग गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सावधानी अपनाएर मात्रै निर्वाचनमा बल प्रयोग गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। कुनै पनि कमीकमजोरी भएमा स्वयं युनिट कमान्डर जबाफदेही हुनुपर्ने उनको निर्देशन छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै उनले बल प्रयोगमा सजग हुन भनेका हुन्। 

भर्चुअल माध्यमबाट देशभरका कमान्डहरूलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तासुकै चुनौतीहरूको सामना गर्न तयार भएर बस्न निर्देशन दिएका छन्।

सवारीसाधनको उचित प्रयोग र त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४ घण्टा क्रियाशील रहँदै राष्ट्रको यस महान् अभियानमा उच्च मनोबल र हौसलाका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिँदै महानिरीक्षक अर्यालले भने– ‘निर्वाचनका वेला हुने कुनै पनि सुरक्षा कमीकमजोरी क्षम्य हुनेछैन।’

फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमान्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरूलाई समेत निर्देशन दिएको सशस्त्र प्रहरी बलको समाचार शाखाले जनाएको छ।

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटिसमेत आफूले सुन्न र देख्न नचाहेको बताउँदै महानिरीक्षक अर्यालले बन्दोबस्तलगायत अन्य भौतिक व्यवस्थापन सङ्गठनले मातहत इकाइहरूसम्म पुर्‍याइसकेकोले त्यसको उच्चतम र भरपुर प्रयोग गर्नसमेत निर्देशन दिएका छन्।

कार्यक्रममा आसन्न निर्वाचनबारे बाहिनीपतिहरूले महानिरीक्षक अर्यालसमक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए। सशस्त्र प्रहरी बल, नेपालले देशैभरि खटिएका जुनसुकै दर्जाका कमान्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, केन्द्रीय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी हटलाइन टेलिफोनको समेत व्यवस्था गरेको छ।

महानिरीक्षक अर्यालको निर्देशनअघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुन सक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमान्डरहरूलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्यालसमक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस