समान पदका अधिकारीलाई समान तलबमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समान पदका अधिकारीलाई समान तलबमान


२३ श्रावण २०७९, सोमबार


मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्तावबारे अर्थ मन्त्रालयले समान पदका अधिकारीलाई समान तलबमान हुने गरी मन्त्रालयले नयाँ तलबमानको प्रस्ताव मन्त्रिपरिषद् पठाएको जनाएको छ ।

अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाएको प्रस्तावित तलबमानमा अधिकृतदेखि सचिवसम्म २४ प्रतिशतसम्मले तलब बढेकोबारे प्रतिक्रिया दिँदै अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले सो कुरा बताएका हुन् ।

‘अन्य सेवाका समान पदका कर्मचारी र सोही पदका निजामती कर्मचारीको तलबमान समान हुने गरी प्रस्ताव पठाइएको हो,’ उनले भने । बाहिर हल्ला भएजस्तो बजेटमा भन्दा तलब बढाएको नभई समान पदका लागि समान तलब हुनुपर्छ भन्ने मान्यताअनुसार तलबमान व्यवस्थित गरिएको उनको भनाइ छ।

अर्थ मन्त्रालयले पठाएको प्रस्तावअनुसार शाखा अधिकृतको सबैभन्दा धेरै २४.२६ प्रतिशतले तलबमान वृद्धि भएको छ। जसअनुसार शाखा अधिकृतले अहिले सुरु स्केलको तलबका रूपमा ३७ हजार ९९० रुपियाँ पाइरहेकोमा बढेपछि ४७ हजार २०८ रुपियाँ पाउने छन्।

त्यस्तै उपसचिवको सुरु स्केलको तलब अहिले ४२ हजार ३८० रुपियाँ रहेकोमा प्रस्तावअनुसार २३.३५ प्रतिशतले बढेर ५२ हजार २७९ रुपियाँ पुग्नेछ। सहसचिवको सुरु स्केल तलब पनि हालको ४९ हजार ३८० रुपियाँबाट २३.६३ प्रतिशतले बढेर ६१ हजार ५० रुपियाँ पुग्नेछ। विशिष्ट श्रेणीको सचिवको तलब १८.२१ प्रतिशतले बढेर ७४ हजार २२१ रुपियाँ प्रस्ताव गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस