सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्री देउवाको टेलिफोन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्री देउवाको टेलिफोन


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सेयर बजार निरन्तर घट्न थालेपछि सुधारका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर आग्रह गरेका छन् ।

बजार सुधारका लागि पहल गरिदिन भन्दै आज (आइतबार) प्रधानमन्त्री देउवालाई भेट्न पुगेका पुँजी बजार लगानीकर्ता सङ्घका पदाधिकारीको आग्रहमा प्रधानमन्त्रीले गर्भनरलाई टेलिफोन गरेर समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

केही दिनयता सेयर बजार निरन्तर घटिरहेपछि सुधारका लागि पहल गरिदिन भन्दै लगानीकर्ताका संघसंस्थाहरुले विभिन्न निकायलाई आग्रह गरिरहेका छन् । सोही क्रममा पुँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइने सीमा (४ करोड र १२ करोड), कर्जा निक्षेप अनुपात (सीडी रेसियो)ले बजारमा पारेको प्रभाव लगायत विषयमा अवगत गराइएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लगानीकर्ताको टोली गभर्नर अधिकारीलाई भेट्न सोमबार राष्ट्र बैंक जाने तयारी गरेको छ । ‘आज सार्वजनिक बिदा भएकाले गभर्नरको समय लिन पाएका छैनौं, भोलि बिहान समय लिएर भेट्न जाने योजना छ,’ पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन् ।

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा राष्ट्र बैङ्कले लगाएको ४-१२ करोडको सीमा खारेज गर्नुपर्ने, सेयर कर्जामा १५० प्रतिशतको भारित औसत जोखिम कम गरेर पुरानै व्यवस्था कायम गर्नुपर्ने लगायत मागहरु लगानीकर्ताले राखेका छन् ।

पछिल्लो समय बैङ्किङ प्रणालीमा लगानीयोग्य रकमको सङ्कट, बढ्दो ब्याजदर र अर्थतन्त्रका सूचक कमजोर हुँदा मुलुकको पुँजी बजारमा असर परिरहेको छ ।

सेयर लगानीकर्ताका विभिन्न सङ्गठनले राष्ट्र बैंक तथा धितोपत्र बोर्डले कुनै सकारात्मक काम नगरेको र प्रतिकुल नीति लिएकाले बजार घटेको आरोप लगाउँदै दवाव दिन थालेका छन् ।

यसअघि राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा लगानीयोग्य रकमको अभाव भएसँगै सेयर बजार र घरजग्गामा जाने कर्जामा केही कडाइ गर्न भारित जोखिम भार बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस