फेरी पनि सार्वजनिक सवारीसाधनको भाडामा वृद्धि, नयाँ भाडादर आजबाट लागू हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फेरी पनि सार्वजनिक सवारीसाधनको भाडामा वृद्धि, नयाँ भाडादर आजबाट लागू हुने


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । विभागका अनुसार नयाँ भाडादर बुधवारबाट लागू हुनेछ ।

सरकारले विद्यमान भाडादरमा ५.१ प्रतिशतसम्म भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्था लागू भएको छ । सोही कारण गत शनिवार भएको इन्धनको मूल्यवृद्धिलाई आधार मानेर भाडा वृद्धिको निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीसाधनमा लागू हुनेछ । यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो । यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार भाडा वृद्धि यात्रुवाहक सवारीसाधनको हकमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तर प्रदेशको भाडा समायोजन गर्छ ।

यसअघि २० चैतदेखि लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस