चिकित्साशास्त्र अध्ययन गर्न सुदूरपश्चिमका विद्यार्थीलाई छात्रवृत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्साशास्त्र अध्ययन गर्न सुदूरपश्चिमका विद्यार्थीलाई छात्रवृत्ति


१५ मंसिर २०७८, बुधबार


कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमबिबिएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेशभित्रका विश्वविद्यालय वा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो ।

मन्त्रालयका शाखा अधिकृत जयदेव महराका अनुसार प्रतिविद्यार्थी रु १० लाखका दरले नौ जनालाई छात्रवृत्ति उपलब्ध गराइने छ ।

छात्रवृत्तिका लागि आगामी पुस १२ गतेसम्म आवेदन दिनका लागि समयसीमा निर्धारण गरिएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ ९पहिलो संशोधन०को अनुसूची ४ को ढाँचामा निवेदन र अनुसूची १० बमोजिम कबुलियतनामा दिनुपर्ने छ ।

छात्रवृत्तिका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालको स्थायी बसोबास भएको स्थानीय तहबाट स्थायी बसोबास रहेको ब्यहोरा खुल्ने सिफारिस पत्र, विद्यार्थीले कक्षा ८, १० र १२ को अध्ययन पूरा गरेको ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, अध्ययन गरेको विद्यालय सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी, निजी शैक्षिक गुठी, निजी) भएको ब्यहोरा खुल्ने गरी सम्बन्धित विद्यालय र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ वा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पेस गर्नुपर्ने छ ।

यससँगै हाल अध्ययनरत शैक्षिक संस्थामा चिकित्साशास्त्रको स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको र अन्य कुनै पनि छात्रवृत्ति प्राप्त नगरेको ब्यहोरा खुल्ने गरी अध्ययनरत क्याम्पसको सिफारिस पत्र, दलित आदिवासी, जनजाति, आदिवासी, पिछडिएको क्षेत्र र वर्ग, लोपोन्मुख वर्ग, सीमान्तकृत समुदायको क्लष्टरभित्र परेको स्पष्ट खुल्ने सम्बन्धित आधिकारिक संस्था, निकायको सिफारिस पत्र पेस गर्नुपर्ने छ ।

चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएसको प्रवेश परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्क र विद्यार्थीको अवस्था ‘र्याङ्क’ खुल्ने प्रमाणसमेत पेस गर्नुपर्ने प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस