एमसिसीलाई करेक्सन गर्न अमेरिका तयार : शेरबहादुर देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसिसीलाई करेक्सन गर्न अमेरिका तयार : शेरबहादुर देउवा


३ कार्तिक २०७८, बुधबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसिसी) मा करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन् ।

केही तत्त्वले एमसिसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसिसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे ।

सरकार गठनको सय दिन पुगेको अवसरमा सरकारी सञ्चारमाध्यम गोरखापत्रसँगको कुराकानीमा उनले भने, ‘एमसिसी विशुद्ध नेपालको हितमा छ । त्यही पनि एमसिसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

प्रधानमन्त्री देउवाले एमसिसी नेपालको हितमा भएकाले चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताए । तर, गत महिना नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष फतिमा सुमारले एमसिसीमा संशोधन हुन नसक्ने बताएकी थिइन् ।

भारत र चीनसँगको सम्बन्ध राम्रो हुनु नै राष्ट्रिय हितमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले दुवै मुलुकसँग सम्बन्ध राम्रो राख्नु नेपालको आवश्यकता रहेको समेत बताए ।

देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात् आज सय दिन पुरा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस