घरेलु हिंसाविरुद्ध आन्दोलनरत महिला अधिकारकर्मी र सरकारबीच सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घरेलु हिंसाविरुद्ध आन्दोलनरत महिला अधिकारकर्मी र सरकारबीच सहमति


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच सहमति भएको छ । मंगलबार बिहान सरकारले उक्त प्रकरणको ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन गर्ने लगायतको सहमति भएको हो ।

आन्दोलनरत पक्षका मोहम्मद शेर बागबानका अनुसार सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने भएको छ । उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौँ आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् । दुई पक्षबीच सहमती भएसंगै मंगलबार दिउँसो गृह मन्त्रालयका पदाधिकारीले त्रिवि शिक्षण अस्पताल पुगेर रुबी खानको अनशन तोडाउने तयारी गरेका छन् । अहिले दुवै पक्षबीच मौखिक सहमति भएको र दिउँसो अस्पतालमै सहमति पत्रमा हस्ताक्षर हुने बागबानले बताए ।

सरकारले सोमबारदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको थियो । सोमबार माइती नेपालको कार्यालयमा पुगेर गृह सचिव टेकनारायण पाण्डे र प्रवक्ता फणीन्द्रमणि पोखरेलले संघर्षरत अधिकारकर्मी र आफन्तसँग सोमबार छलफल गरेका थिए  ।

नन्कुन्नीको घरेलु हिंसाकै कारण ज्यान गएकाले त्यसका दोषी ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि नबढेसम्म आन्दोलन स्थगित गर्न नसकिने आन्दोलनरत पक्षको माग थियो । प्रहरीले अहिले नन्कुन्नीका श्रीमान् र जेठाजुलाई मात्र पक्राउ गरेको छ । त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको विषयका दोषीलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस