आफूखुसी बढाएको भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आफूखुसी बढाएको भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् ।

बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

रिंगरोडमा तेर्साएर राखिएका गाडी अहिले व्यवसायीले लगिसकेको ट्राफिक प्रहरीले जनाएको छ । केही स्थानमा मात्र गाडी बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर असार २९ गतेबाट लामा तथा मध्यम दूरीमा चल्ने सवारीमा साविकको भाडामा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशअन्तर्गतका जिल्लामा भने बढाएको छैन । ती जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने छ ।

विभिन्न यातायातसम्बद्ध समितिहरुले भाडा बढेको भन्दै केही दिनदेखि यात्रुसँग जबरजस्ती बढी भाडा उठाइरहेका छन् । व्यवसायीले सरकारले असोज १५ गतेदेखि भाडा बढाएको भन्दै गाडीमा नयाँ भाडासूची टाँसेको छ । तर सरकारले अहिलेसम्म प्रदेशअन्तर्गतका जिल्लामा भाडा बढाउने कुनै निर्णय नभएको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार व्यवसायीले केही दिनयता यात्रुसँग आफूखुसी बढाएर भाडा लिने गरेको पाइएको छ ।

सोमबार बिहान मात्र बढी भाडा लिने ८२ वटा सवारीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । आफूहरुले बढाएको भाडा लिन पाउनुपर्ने जिकिर व्यवसायीको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस