पानीका मुहान सुक्दै गएपछि ऐरावतीले निर्माण गर्‍यो ५२ रिचार्ज पोखरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पानीका मुहान सुक्दै गएपछि ऐरावतीले निर्माण गर्‍यो ५२ रिचार्ज पोखरी


५ जेष्ठ २०७८, बुधबार


प्युठान । एकातिर पानीको हाहाकार र जङ्गली जनावरको त्रास, अर्कोतिर बाढी पहिरो र सामुदायिक बनमा लाग्ने डढेलोको समस्या । अहिले आएर कोरोना महामारीको त्रास । हिजोआज कतिपय स्थानीय तहमा मानिसहरूलाई सामान्य जीवन जिउन पनि कठिन सङ्घर्ष गरिरहनुपरेको छ ।

जहाँ एक गाग्री पानी ल्याउन करिब ३ घण्टा पैदल हिँड्नुपर्छ । जहाँ किसानले खेतबारीमा लगाएको बाली बँदेलले सखाप पारिदिन्छ । जहाँ सामुदायिक बनमा लागेको आगो निभाउन आकासे पानीको भरपर्नुबाहेक अरू कुनै उपाय नै हुँदैन, यस्ता विविध समस्या झेल्दै आएको स्थानीय तहमध्ये एक हो प्युठानको ऐरावती गाउँपालिका ।

जलवायु परिवर्तन, बन जङ्गल फडाँनीलगायतका कारणले पानीका मुहान सुक्दै छन् । अहिले संसारभर मानिसहरूलाई प्राकृतिक अक्सिजनको अभाव भइरहेको छ । नेपालमा दिनप्रतिदिन विभिन्न बनहरूमा डढेलोको समस्याले विकराल रूप लिने गरेको छ ।

पछिल्लो समयमा पानीका मुहानहरू सुक्दै जानथालेपछि मुहान संरक्षण गर्ने उद्देश्यले प्युठानको ऐरावती गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गरेको छ ।
फोटो।।।रिचार्ज पोखरी

कुल क्षेत्रफलको करिब ८५ प्रतिशत क्षेत्र बनजंगलले ओगटेको यस गाउँपालिकामा केन्द्रीय सरकारले पानीको समस्या समाधान र डढेलो नियन्त्रणका लागि खासै प्रभावकारी काम गर्न नसकेको भए पनि गाउँपालिका स्वयंले यी समस्या समाधानका लागि स्थानीयको सहयोगमै केही असल अभ्यासहरू गरेका छन् ।

पानीको स्रोत सुक्दै गएपछि स्थानीयलाई खानेपानीको चरम समस्या हुँदै गएको अवस्थामा पानीको समस्यालाई कम गर्नका लागी रिचार्ज पोखरी निर्माण गरिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले प्रशासनलाई बताए ।

उनले भने,‘यस वर्ष ५२ स्थानमा रिचार्ज पोखरी निर्माण गरेका छौँ, ६ मिटर चौडाइ, १२ मिटर लम्बाई भएका ५२ वटा पोखरीहरू गाउँपालिकाका प्रत्येक सामुदायिक बनमा निर्माण गरिएका छन् ।’

स्थानीय सबैको प्रतिनिधित्व हुने गरी बैठक गरी पोखरी खन्ने स्थानीयहरूलाई प्रतिव्यक्ति १ सय ५० रुपैयाँ खाजा खर्च दिएर विभिन्न उपभोक्ता समूहको खातामै रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष शाहले बताए ।

पहाडी भूभागमा जङ्गली जनावरलाई समेत पानीको आभाव केही हदसम्म यसले पूर्ति गर्नेछ । आकाशबाट पानी परेपछि पानी यी पोखरीमा जम्मा हुने गरेको छ । यहाँ जम्मा भएको पानीले कतिपय जङ्गलमा लागेको डढेलो निभाउन पनि ठुलो मदत मिल्ने गरेको गाउँपालिका अध्यक्ष शाहको भनाई छ ।

प्राकृतिक विपत्तिमा पानीको हाहाकार त छँदै छ यहाँका जनताले शुद्ध पिउने पानीको समेत अभाव विगत लामो समयदेखि झेल्दै आएका छन् ।

स्थानीय करिब ८० प्रतिशत पानीका मुहानहरू सुकिसकेका छन् । विगत १० वर्षदेखि निरन्तर पानी सुक्दै जाँदा अहिले २० प्रतिशत मात्रै पानीका मुहान रहेका गाउँपालिका अध्यक्ष बताउँछन् ।

यहाँका अधिकतम् परिवारले मूल, कुवा र पँधेरोकै पानी पिउने गरेका छन् । कुवाबाट मोटरमार्फत पानी पुर्‍याउन पनि बेलाबेलामा विद्युतीय समस्या हुने गरेको छ ।

स्थानीय जनतालाई खानेपानी पुर्‍याउनका लागि नदीछेउमा कुवा खनेर मोटरमार्फत पानी उपलब्ध गराउनका लागि लिफ्ट पानी सञ्चालन कार्यविधि पनि ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. ५ मा ८४ घरधुरीलाई डिप बोरिङमार्फत खानेपानी वितरणका लागि प्रक्रिया अगाडी बढाइसकेको छ र दाङवाङमा लिफ्ट खानेपानी सञ्चालनका लागि टेन्डर आह्वान भइसकेको छ । लिफ्टमार्फत पानी पुर्‍याउन सकिएमा यहाँका करिब ८० प्रतिशत जनता लाभान्वित हुने अध्यक्ष शाहको दाबी छ ।

सामुदायिक बन महासङ्घसँग सहकार्य गरेर रिचार्ज पोखरी निर्माण गरिएको भए पनि लिफ्टमार्फत पानी ल्याउने कार्यक्रम भने खानेपानी विभागसँग मिलेर गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष शाहले प्रशासनलाई जानकारी दिए ।

गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गरिसकेपछि स्थानीय पशु चौपायालाई चरिचरणको बेला सहज भएको छ । त्यस्तै वन वातावरणको संरक्षण भएको छ । सामुदायिक वनका डाँडामा पोखरी निर्माण भएकाले वनमा लाग्ने गरेका डढेलो नियन्त्रणका लागि पनि सहज हुने गरेको गाउँपालिकाका कम्प्युटर अपरेटर श्रीधर भट्टराईले प्रशासनलाई बताए ।

उनले भने, ‘यसपालि सबै वनमा आगलागी भएको थियो, वनमा निर्माण गरिएका रिचार्ज पोखरीले आगो निभाउन निकै सहज भयो ।’

यहाँ निर्माण गरिएका पोखरीहरूमा वर्षातको समयमा पानी भरिभराउ हुन्छ भने अन्य पानी परेको बेला पनि पानी रिचार्ज हुने गरेको छ ।

गाउँपालिकाले पोहोर साल ल्याएको ‘अध्यक्षसँग वन’ कार्यक्रमपछि अहिले एक वन एक पोखरी कार्यक्रम ल्याइएको अपरेटर भट्टराईको भनाई छ ।

वनमा कसरी डढेलो लाग्छ, या कसले लगाउँछ रु भन्ने प्रशासनको जिज्ञासामा गाउँपालिकाका प्रवक्ता दामु विक भन्छन्, ‘डढेलो हिँडडुल गर्ने मान्छेले नै लगाउँछन् । कतिपय अवस्थामा गोठालाले नै लगाउँछन् ।’

उनले भने, ‘यहाँका जङ्गलमा बँदेलको सङ्ख्या धेरै छ । बँदेलको शरीरमा जुम्राहरू हुन्छन् । ती जुम्राहरूले गोठालालाई वनमा गएको बेला टोक्ने गर्छन् । जुम्राले टोकेपछि मानवस्वास्थ्यमा पनि निकै असर गर्ने, टोकेको ठाउँमा गाँठो पर्ने भएकाले जङ्गलमा रहेका जुम्रा मार्नलाई पनि गोठालाले आगो लगाउने गरेको पाइएको छ ।’

‘वनमा हजारौँको सङ्ख्यामा बँदेल छन् । एक पटकमा करिब आधा दजर्नजति बच्चा जन्माउने भएकाले बँदेलको सङ्ख्या धेरै छ ।’ उनले भने, ‘अहिले वनमा बँदेलहरू धेरै भएपछि जुम्रा जङ्गलभरि फैलिएकाले बाघ भालु, चितुवासमेत त्यहाँबाट भागेका छन् ।’

जुम्रा भगाउनलाई गोठालाले सीमित ठाउँमा आगो लगाए पनि त्यो पछि सबैतिर बिस्तारै फैलिदैजाने र वनमा लागेको डढेलो कहिलेकाहीँ नजिकैका गाउँवस्तीमा समेत पुग्ने गरेको प्रवक्ता विक बताउँछन् ।

यसपालि वडा नं. २ र ६ नम्बर वडाका घर बस्तीमै डढेलो पुगेर क्षति भएको थियो प्रवक्ता विकले प्रशासनलाई सुनाए ।

जङ्गलबाट आएका बँदेलले यहाँको मूख्यबाली मकै अत्यधिक खाने गरेका छन् । बँदेलहरूको आतङ्कले गर्दा यहाँका किसान चिन्तित छन् । यहाँका किसानले बारीमा तरकारी फलफूल फलाउने तर उपभोग गर्न नपाउने अवस्था सृजना हुँदा काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भएको गाउँपालिकाका प्रवक्ता विकको भनाई छ ।

गाउँपालिकाले यी व्यवहारिक समस्या त झेलेका छन् नै सरकारको नीतिगत समस्याले गर्दा पनि यहाँ जनता निकै पीडित बनेका छन् । ८५ प्रतिशत वनजंगलले ढाकेको गाउँपालिकाले वनसम्बन्धी जटिल कानुनी प्रावधानका कारण १० प्रतिशत नवपैदावारको सदुपयोग पनि गर्न नसकेको अवस्था छ । सरकारले वनसम्बन्धी नीति पनि परिमार्जन गरेर स्थानीय सरकारलाई समृद्धिका लागि बाटो खोली दिनुपर्ने गाउँपालिका अध्यक्ष शाहको भनाई छ ।

यी विविध व्यवहारिक र नीतिगत समस्याका बाबजुद गाउँपालिकाले अन्य पनि विभिन्न राम्रा अभ्यासहरू गरेको छ ।

दैविप्रकोप व्यवस्थापनका लागि सहज होस भनेर गाउँपालिकाले ‘एक वडा एक हेलिप्याड ’ निर्माण कार्यक्रम ल्याएको छ । गाउँपालिकाका ६ वटै वडामा विपतको बेला हेलिकप्टर अवतरण गर्न सकिने गरी हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका कर्मचारी श्रीधर भट्टराइले जानकारी दिए ।

यस्तै गाउँपालिकाले टेलीमेडिसिन सेवा सञ्चालन गरेको छ । सुरुमा गाउँपालिकाकै बारुला स्वास्थ्य चौकीबाट सुरु भएको यो कार्यक्रम अहिले धुवाङ स्वास्थ्य चौकीबाट सुरु गरिएको छ ।

प्रत्येक शनिवार ६० वर्षमाथिका वृद्धलाई घरमैगएर चेकअप गर्ने व्यवस्था छ । फिल्डमा जाने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले इन्सेन्टिभ दिने गरिएको छ । गाउँपालिकास्थित स्वास्थ्य चौकीमार्फत भिडियो कलको माध्यमबाट गाउँका वृद्धवृद्धालाई स्वास्थ्यमा कुनै समस्या भएमा विशेषज्ञ सेवा दिने गरेको छ ।

दैनिक औषधी खानुपर्ने रक्तचापलगायतका दीर्घरोगीहरुका लागि स्थानीय स्वास्थ्य चौकीमै जाँच र औषधीको व्यवस्था गरिएको छ । गाउँपालिकाले टेलिमेडिसिन सेवाका लागि वार्षिक करिब ८ लाख खर्च छुट्याउने गरेको छ ।
यस्तै गाउँपालिकाले गरेको अर्को असल अभ्यास हो ‘ज्ञानी छोराछोरी’ कार्यक्रम ।

गाउँपालिकाले स्थानीय बालबालिकाको सर्वाङ्गीण विकास गर्ने हेतुले सञ्चालित ज्ञानी छोराछोरी कार्यक्रमका लागि वार्षिक ५ लाख बजेट छुट्याउने गरेको छ । यो कार्यक्रम वाल मनोविज्ञानलाई ध्यानमा राखी सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँमा बच्चाहरू वृद्ध मानिसलाई देखेपछि डराउने, स्कुल जान नमान्ने, ठुला मान्छेहरूसँग कुरा गर्न डराउने तथा लाज मान्ने समस्या देखिएकाले त्यस्तो समस्या हटाउन सहयोग पुगोस् भनेर बालबालिका र वृद्धवृद्धाबीच अन्तरक्रिया कार्यक्रम बेलाबेलामा गरिन्छ । बच्चाहरू स्कुल किन जानेरु, स्कुलको पढाइको गुणस्तर कसरी बढाउने भन्नेबारेमा बेलाबेलामा वर्कसप गर्ने गरिएको छ ।

हरेक वर्ष डढेलोका कारणले जङ्गलमा निकै ठुलो क्षति हुने गरेको छ । केही महिना अघि देशभरका विभिन्न वनजंगलमा लागेको डढेलोले वायूप्रदुषण पनि अत्यधिक बढेको विज्ञहरूले बताएका थिए ।

चुरे क्षेत्रलगायत देशका विकट पहाडी भेगका भीर पाखा र जङ्गलमा लागेको डढेलो महिनौँसम्म पनि निभाउन नसकिएको तितो यथार्थ पनि हामीसँग छन् । दुई महिनाअघि ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर नजिकैको वनमा लागेको आगो पनि हप्तौँसम्म निभाउन सकिएको थिएन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हर सम्भव प्रयास गरे पनि त्यो निभाउन सम्भव भएको थिएन । हेलीकप्टरबाटसमेत पानी खसालेर आगो निभाउने कोसिस भएको थियो । ठुलो क्षेत्रमा आगो फैलिएकाले हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रणको प्रयास गर्नुको विकल्प थिएन । यसरी दनदनी लागेको जङ्गलको आगो आकासे पानीले मात्रै निभाउन सक्छ ।

ऐरावती गाउँपालिकाले बनाएजस्तै रिचार्ज पोखरीहरू देशभर छरिएर रहेका विभिन्न सामुदायिक वनहरूले पनि बनाउन सके वनमा लागेको आगो नियन्त्रण गर्न सहयोग पुग्न सक्छ । साथै बनजंगलमा रहेका पशुपक्षी र जीव जनावरलाईसमेत पानीको समस्या हुनबाट जोगाउने आशा गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस