जङ्गी अड्डामा सीमा सुरक्षा सम्बन्धी बैठक सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जङ्गी अड्डामा सीमा सुरक्षा सम्बन्धी बैठक सुरु


२५ माघ २०७७, आइतबार


काठमाडौँ । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबिच समन्वयका क्षेत्रहरू’ विषयक दुई दिने सेमिनार सुरु भएको छ ।

मन्त्रिपरिषद्‍बाट असार २३ गते स्वीकृत भएको ‘राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्य योजना’ बमोजिम नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबिच समन्वयका क्षेत्रहरूको पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने लक्ष्य सहित राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको संयोजकत्व तथा प्रधानमन्त्री एवं रक्षा मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा जङ्गी अड्डा तथा सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

उक्त सेमिनार मुख्य रूपमा शान्तिको समयमा तथा द्वन्द्व एवं असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्षहरू र सम्बद्ध विभिन्न निकायहरूको भूमिकामा केन्द्रित रहने बताइएको छ ।

सो क्रममा सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय तथा सीमा पारिका समकक्षीहरुसंगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने तरिकाहरू तथा सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषय वस्तुहरू समेत समेटिने छन् । सेमिनारले उल्लेखित विभिन्न विषयहरूमा छलफल गरी नेपाल सरकारलाई नीति निर्माणका लागि उपयुक्त सुझावहरू प्रदान गर्नेछ ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को सदस्य सचिव एवं रक्षा सचिव रेग्मीराज पाण्डेले स्वागत मन्तव्य दिएका थिए भने गृहमन्त्री राम बहादुर थापा तथा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले सेमिनारको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम शुभारम्भ गर्दै शुभकामना मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले यस प्रकारका कार्यक्रमले सीमा सुरक्षा जस्तो गम्भीर तथा महत्त्वपूर्ण विषयमा हुने आन्तरिक छलफल तथा विज्ञहरूबाट प्राप्त हुने राय सुझावबाट नीति निर्माण एवं सीमाको कुशल व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पहिलो दिन जङ्गी अड्डा तथा दोस्रो दिन सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हल चोकमा सञ्चालन हुने यस कार्यक्रम राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सह-संयोजकबाट सेमिनारको निचोड र सुझावको प्रस्तुतीकरण, सहभागीहरूलाई प्रमाणपत्र वितरण, रक्षा सचिव तथा गृह सचिवको मन्तव्य एवं गृहमन्त्री थापाबाट समापन मन्तव्य सहित समापन हुने कार्यक्रम रहेको छ ।

इतिहासमै पहिलो पटक आयोजना भएको र नेपालको अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनको लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको सो कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालयरनिकायहरुबाट विशिष्ट श्रेणीका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस