संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्छ : नेता शर्मा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्छ : नेता शर्मा


५ मंसिर २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, एमफिल समाजशास्त्र र प्रा चैतन्य मिश्र फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपालमा समाजशास्त्र : शिक्षा, स्वास्थ्य र समृद्धि’ विषयक एकदिने विचार गोष्ठीमा उनले संविधान कार्यान्वयन भएमात्र मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा समृद्धि आउने उल्लेख गरे ।

‘नेपालको संविधानले महिला, दलित, आदिवासी, अपाङ्ता भएका व्यक्ति, मधेसीलगायतको अधिकारलाई स्थापित गरेको छ, समृद्ध मुलुक निर्माणका लागि संविधान कार्यान्वयन आवश्यक छ’, नेता शर्माले भने ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिले महिला, दलित, सुकुम्बासी, आदिवासी र जनजातीलाई सशक्तीकरण गरेमात्र मुलुकको विकास हुने बताए । ‘संघीयताको कार्यान्वयन भएमात्र समाजवादको बाटोमा मुलुक अगाडि बढ्छ’, उनले भने । नेता गिरीले केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले न्यायोचित बजेट विनियोजन गरेमात्र समृद्ध नेपाल र सुखी नेपाली बन्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.उषा झाले कर्मचारीतन्त्र केन्द्रीकृत भएकाले संघीयताको कार्यान्वयनमा समस्या उत्पन्न हुँदै गएको बताए । राजनीतिक विश्लेषक तुलनारायण शाहले मधेस आन्दोलनका कारण मुलुकमा संघीयता निर्माण भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयलाई अनुसन्धान गर्ने केन्द्रका रुपमा अगाडि बढाउनुुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागले छ वर्षदेखि यस्ता छलफल र बहस चलाउँदै आएको विभागका प्रमुख टीकाराम गौतमले जानकारी दिए । सो अवसरमा शिक्षा, स्वास्थ्य र समृद्धिको बारेमा छुट्टाछुट्टै समूह बनाएर समूहगत छलफल गरिएको थियो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस