देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : प्रवक्ता श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : प्रवक्ता श्रेष्ठ


७ कार्तिक २०७६, बिहिबार


गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार देशमा सुशासन र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेकपा गोरखाको आरुघाट गाउँपालिका–१ र २ को संयुक्त आयोजनामा आज मान्बुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेकपा नेतृत्वको सरकार शक्ति र पहुँचका आधारमा नभई कानूनी राज्यमा विश्वास गर्ने भएकाले कानूनको नजरमा सबैलाई समान हैसियतमा राखिने बताए ।

‘अपराध गर्ने जोसुकै भए पनि सरकार कानूनी दायरामा ल्याउन प्रतिबद्ध छ भन्ने कुरा पछिल्लो घटनाक्रमले देखाएको छ’, उनले भने, ‘यसले अहिले नेपाली जनतामा कम्युनिष्ट सरकारप्रतिको विश्वास र भरोसा पनि बढाएकोे छ ।’ बाह्र वर्ष पहिलेदेखि लुकेका आपराधिक घटनालाई समेत अनुसन्धानको दायरमा ल्याएर कम्युनिष्ट सरकारले अपराध गर्ने कसैलाई छुट दिँदैन भन्ने प्रमाणित गरेको प्रवक्ता श्रेष्ठको भनाइ थियो । उनले विकास निर्माणका काममा सरकारले गति बढाउन शुरु गरेको भन्दै नागढुङ्गा सुरुङ मार्गको शिलान्यास त्यसैको उदाहरण भएको उल्लेख गरे ।

सडक मार्गको विकासबाट ग्रामीण क्षेत्रको विकासको ढोका खुल्ने भएकाले देशलाई समृद्धिको दिशामा अघि बढाउन भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनले बताए। ‘कम्युनिष्ट सरकारप्रति नेपाली जनताको बढी नै अपेक्षा छ, छिटो विकासले गति लियोस् भन्ने जनताको चाहना छ’, श्रेष्ठले भने, ‘सरकार पनि जनताको चाहनाअनुसार अघि बढ्न प्रतिबद्ध भएर लागिपरेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस