मिस्टेक भएकोमा अचम्म छु सायद यो थर्ड पर्सनले बिगारेर राखी दिएको छ कि ! -राहेल पोखरेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिस्टेक भएकोमा अचम्म छु सायद यो थर्ड पर्सनले बिगारेर राखी दिएको छ कि ! -राहेल पोखरेल


४ कार्तिक २०७६, सोमबार


प्रदेश नं. ५ लोक सेवा आयोग गठनका क्रममा फर्जी कागजात पेस गरी सदस्यमा नियुक्ति लिएको भन्ने विषय यति बेला चौतर्फी चर्चामा छ । मुख्यमन्त्रीको संयोजकत्वमा सभामुख र विपक्षी दलका नेतासहित तीन सदस्यीय टोलीले सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नियुक्त भएकी राहेल पोखरेल विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलेको कोटाबाट छनौट भएकी हुन् । उनले पेस गरेको एसएलसीको शैक्षिक प्रमाणपत्र, नागरिकताको मिति र अनुभवको प्रमाणपत्र एक आपसमा मेल नखाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । विपक्षी दल नेपाली कंग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका नेता पोखरेललाई आफ्नै बुहारी सिफारिस गरेको आरोप एकातर्फ छ भने लोक सेवा जस्तो विश्वासिलो र गरिमामय संस्थामा फर्जि कागज पेस गरी नियुक्ति लिएको विषय अर्को गम्भीर विषय हो । यही सन्दर्भमा यो घटनाको वास्तविकता के हो ? कसरी यस्तो हुन पुग्यो भनेर सदस्यमा नियुक्त राहेल पोखरेलसँग कुराकानी गरेका छौँ ।

तपाईँले पेस गर्नुभएको शैक्षिक प्रमाणपत्र, नागरिकता र अनुभवको प्रमाणपत्र एक आपसमा मेल खाएको देखिँदैन, कसरी यस्तो भयो ?
मेरो दुईवटा अनुभवको प्रमाणपत्र थियो । पहिलो प्रमाणपत्र मिस्टेक गराएको रहेछ । त्यसपछि मैले अर्को निकालेको थिएँ । त्यो पनि मैले ६२ सालमा निकालेको हो । पढाउँदै जाँदा बिचमा मैले मास्टर्स गर्नका लागि छोडेँ । त्यसपछि मेरो ग्याप भयो त्यसपछि मैले निकालेन ।

तपाईँ प्रदेश लोक सेवा आयोगको सदस्यका लागि कसरी योग्य उम्मेदवार बन्नुभयो र सिफारिस कुन आधारबाट भएको हो, थोरै पृष्ठभूमि बताई दिनु हुन्छ कि ?
बुवाले कुनै तेस्रो व्यक्तिको सिफारिसमा सदस्यका लागि मान्छे बोकेर जाँदै हुनुहुन्थ्यो । अनि मैले बुवालाई मेरो पनि योग्यता छ, मैले लोक सेवा आयोगको नियमावलीमा हेर्दा मेरो योग्यता पुग्छ । ठिक छ । मिल्छ भने मेरो गरिदिनु न भनेँ । उहाँले हुन्छ महिलालाई प्राथमिकता दिएको रहेछ भने भनेर जानु भएको हो ।

त्यसपछि मैले हतार हतार हचुवा तालमा सर्टिफिकेट दिँदा खेरी अर्को गएको रहेछ । खास मिस्टेक भएको त्यही हो । हो, अख्तियार आयोगमा निवेदन दर्ता भएको रहेछ, त्यहाँ दर्ता गरुन्, छानबिन गरुन् । त्यहाँ कुनै मेरो सर्टिफिकेट, अनुभव नभएको भए मलाई सजाय गरुन्, त्यसमा म तयार छु । किनभने म कुनै गल्ती गरेको मान्छे होइन, ठुलो इस्यु केही पनि छैन । आफूले गलत काम नगरेपछि कहीँ पनि दब्ने कुरा छैन । यसबारे मैले सचिवालयमा पनि केही कुरा गरेको छैन ।

आज पत्रपत्रिकामा पनि आएको रहेछ । सर्टिफिकेटहरू त्रिभुवन विश्व विद्यालयबाट नै पास गरेको छ । अब मेरो कागजात फर्जी हुन्छ भने नेपाल सरकार नै फर्जी हुनुप¥यो । एक्सपिरियन्स सर्टिफिकेटमा त्यही हो ।

सम्बन्धित समाचार : फर्जी कागजात पेस गरी लोक सेवा आयोगको सदस्य नियुक्त(प्रमाणसहित)

भनेपछि तपाइसँग दुई वटा अनुभवको प्रमाणपत्रहरु छ, हैन त ?
हो, मेरो अर्को पनि छ । म एकदम हतारमा थिएँ । मेरो कुनै योजना थिएन । अहिले बुहारीलाई गर्‍यो भनेर समाचार आइरहेको छ तर बुवाले अन्तिम मितिसम्म पनि तैँले गर भन्नु भएको होइन । म उहाँको पिए नै बस्न सक्ने मान्छे हो । त्यसका लागि योग्यता भएको मान्छे हो । हे, काँग्रेसले आफ्नै मान्छे ग¥यो भन्ने हुन्छ त्यही भएर हुन दिनुहोस् बुवा भनेँ ।

तपाईँले दुईवटा अनुभवको प्रमाणपत्र कसरी के का लागि लिनुभयो त ?
मैले भनिहाले । मलाई अनुभव प्रमाणपत्र बनाई दिनुहोस् भन्दा उनीहरूले मिति मिस्टेक गरेछ । मैले पढाउन थालेको ५९ सालदेखि हो । मेरो ५७ सालको एलएसली हो । हिजो अस्ति तपाईँको यस्तो भयो भनेर देखाउनु भयो ।
अहिलेको ५९ सालको नै छ । पहिल्यै देखिको फ्यामिलि प्लानिङमा केही थिएन । कहीँ कतै मेरो नाम जोडिएको थिएन । यो ठुलो पनि होइन । यही भलवारिमा छ, त्यो स्कुल । त्यहाँ गएर सोधुन्, बुझुन् । मेरो अरू कुनैमा पनि दोष छैन ।

यो घटनामा तपाईँ आफ्नै गल्ती देख्नुहुन्छ कि, अरू कसैको षड्यन्त्र छ भन्नुहुन्छ त ?
थर्ड पर्सनको प्रेसर आएको हो । उहाँको मान्छे गरेन भनेर पनि यो हुनसक्छ । जे पनि हुन सक्ने रहेछ । सानो कुरालाई इस्यु बनाएर नहुने वाइयात कुरामा यो भइरहेको छ । जुन बुहारीलाई भनेर आएको छ, यदि उहाँले गर्न चाहेको भए पहिला संसदीय दलको नेता हुँदै पनि सबै ठाउँमा गर्न सक्नुहुन्थ्यो होला । अहिले पनि उमेर पुगेको, योग्यता पाएको र सम्बन्धित क्षेत्रमा अनुभव काम गरेको क्राईट एरिया हेरेर पुगेको भएर मिल्छ भने गर्नुस् भन्दा एउटा महिला खोजेको भएर त्यसभित्र म परेको हो । त्यसमा म भाग्यमानी ठान्छु ।

र, अहिले पनि महिला खोजेको भएर यो अपवाद आइरहेको हो । उहाँ पनि पुरुष खोजेर जानु भएको थियो । मुख्यमन्त्रीले महिला खोजेर दिनुहोस् भनेकोले म परेको हो । त्यसमा पनि मेरो योग्यता र क्राईट एरिया पुगेको छ । सदस्यको विविध क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने भएको भएर त्यो क्राइट एरियाभित्र म पनि पर्ने रहेछुँ भनेर दिएको हो । एउटा महिला नै ल्याउनुहोस् भनेर उहाँले मेरो नाम दिनुभएको रहेछ ।

सम्बन्धित समाचार : आयोगको सदस्य हुन अनुभव, योग्यता र परिपक्वता जरुरी -अध्यक्ष मैनाली

भनेपछि यो घटनामा तपाईँको कुनै गल्ती नै छैन हैन त ?
त्यसमा अलिकति गल्ती छ । म सिनसियर भइन । काम प्रतिको अनुभव मलाई छ, मैले काम गरेको छु भनेर ढुक्क भएर अनुभवको प्रमाणपत्रलाई मैले ठुलो इस्यु बनाइन । एकदम हतार थियो सटासट झिकेर दिँदा खेरी मिस्टेक भएको रहेछ । मिस्टेक भएकोमा पनि म एकदम अचम्म छु सायद यो थर्ड पर्सनले पनि यसलाई बिगारेर राखी दिएको छ कि, त्यो ओरिजिनल म सँग देखिएको छैन ।

फोटोकपी गर्दा के भयो । ओरिजिनल पेस गरे जस्तो पनि लाग्छ । त्यो पनि लागेको छैन, त्यसमा म अलिकति दुईमत छु । मैले स्कुलमा ६-७ वर्ष पढाएको छु । त्याहाँ विद्यार्थिलाई पनि सोध्न सक्नुहुन्छ । हाजिर पनि हेर्न सक्नुहुन्छ । सबै रेकर्डहरु हेर्न सक्नुहुन्छ । त्यो सबै छ । यदी परेको खण्डमा पुरा अवधिको पेश गर्न सकिन्छ । फर्जि हो या होइन भन्ने कुरा त्यही गरेर हेरे पनि पत्ता लगाउन सकिन्छ ।

तपाइसँग अहिले दुइटै छ नि प्रमाणपत्र ?
अहिले म सँग छ । एउटा मैले या मैले मिस्टेकले निकालेको हो या उनीहरूले मिस्टेक गरेर मैले दुइटा निकालेको रहेछुँ, दुईवटा छ के म सँग । तर मैले हेर्नुस् अहिले तुरुन्तै गएर यति अवधिको बनाई दिनु भनेर नक्कली सर्टिफिकेट ल्याएको छैन । सुरुमा पढाउँदा खेरी निकालेको छु, त्यसपछि पनि मैले निरन्तर पढाई रहेँ, त्यसपछि मैले निकालेको छैन ।

जायज कुरा यही हो । हजुरलाई मैले क्लियर कट कुरा गरेको छु, मलाई लप्पन छप्पन यताउता मलाई आउँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन हालेको रहेछ, उहाँले छानबिन गर्न सक्नुहुन्छ त्यसमा म एकदम ढुक्क छु । निर्धक्क छु ।

Tags :
प्रतिक्रिया दिनुहोस