नियमावली लत्याउँदै स्वास्थ्यमा सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नियमावली लत्याउँदै स्वास्थ्यमा सरुवा


प्रशासन विशेष ब्युरो

१० मंसिर २०७५, सोमबार


स्वास्थ्यमा सरुवा

काठमाडौं । स्वास्थ्य सेवा विभागले नियमावली लत्याउँदै कर्मचारी सरुवा गरेको पाइएको छ ।

विभागले गत कात्तिक ३० गते झण्डै दुई हजार कर्मचारीको सरुवा गरेको हो । यसअघि विभागले गत असोजमा चार सय र भदौमा १७ सय कर्मचारीको सरुवा गरेको थियो ।

स्रोतका अनुसार महानिर्देशक लोहनीलाई स्वास्थ्य मन्त्री, राज्यमन्त्री ट्रेड युनियनबाट दबाब आएपछि सरुवा गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कर्मचारीलाई सरुवा नभई कामकाजका लागि मात्रै खटाइएको बताउँछन् । कर्मचारी समायोजन ऐनमा नेपाल सरकारले आवश्यक पर्ने प्रदेश तथा स्थानीय तहमा कर्मचारी खटाउने व्यवस्था अनुसार खटाइएको उनले दाबी गरे ।

उक्त सरुवा कर्मचारी समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनका आधारमा सरुवा गरिएपछि कर्मचारीले असन्तुष्टि जनाएका छन् । स्वास्थ्य सेवा नियमावलीलाई बेवास्ता गरी सरुवा गर्न नहुने उनीहरूको तर्क छ । उनीहरूले विभागले मनपरी सरुवा गर्दा पनि नियमक निकाय मौन रहेको आरोप लगाएका छन् ।

स्वास्थ्य सेवा नियमावलीको नियम ३१ मा सरुवाको आधार तोकिएको छ । ३१ (क) मा समय तालिका र अवधि तथा ३१ (घ) मा सरुवा संसोधन तथा मिलानको व्यवस्था छ ।

स्वास्थ्यले एक दरबन्दीमा चार जनासम्म सरुवा गरेको भेटिएको छ ।

सम्बन्धित समाचार : कर्मचारी सरुवामा ‘चलखेल’

सरुवा–सूची सार्वजनिक गर्न ढिलाइ
नियमावलीमा कात्तिक मसान्तसम्म सरुवा सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि छ ।

तर, विभागले स्टाफ नर्सबाहेक अन्यको सरुवा–सूची सार्वजनिक गरेको छैन । स्टाफ नर्सको सरुवा–सूची पनि मंसिर पहिलो हप्ता मात्रै सार्वजनिक गरिएको हो ।

सूची सार्वजनिक नगरिएपछि विभागमा दिनहुँ कर्मचारीको भीड लाग्ने गरेको छ । सरुवा–सूची सार्वजनिक नभएपछि हेल्थ असिस्टेन्ट, अहेव, अनमी तथा अन्य कर्मचारी निरास छन् ।

नियमावलीको ३१ घ मा सरुवा शंसोधन तथा मिलान सम्बन्धि व्यवस्थाअनुशार ऐन र नियमावलीको विपरीत सरुवा हुन गई कुनै कर्मचारीलाई मर्का परेमा निजले सोको आधार र कारण समेत खुलाई सरुवा गर्ने अधिकारीभन्दा एक तह माथिको सरुवा गर्ने अधिकारी समक्ष सरुवा भएको मितिले २१ दिन भित्र निवेदन दिन सक्नेछ र यसरी परेको निबेदन उपर छानबिन गर्दा निजको माग जायज देखिएका सम्बन्धित अधिकारीले कारण र आधार समेत उल्लेख गरी त्यस्तो सरुवा बदर गरी मिलान गर्न सक्नेछ भन्ने उल्लेख छ ।

तर सरुवा गरेको १० दिन भईसकेको छ सरुवा हुने कर्मचारीको सूची नै सार्वजनिक गरिएको छैन, जसले गर्दा उनीहरु यो व्यवस्थाबाट वञ्चित गरिँदैछ ।

सोही नियमको २ मा कर्मचारीको सरुवा गरेपछि सम्बन्धित निकायले माथिल्लो निकायमा तुरुन्त जानकारी दिनुपर्ने उल्लेख छ ।

तर कार्तिक ३० गते शुक्रबार साँझ गरेको सरुवाबारे ३ दिन(मंसिर २ गते आइतबार)सम्म पनि मन्त्रालयमा जानकारी नभएको मन्त्रालयले बताएको थियो ।

सम्बन्धित समाचार : ‘गुपचुप सरुवा’ गरेर महानिर्देशक सम्पर्कविहिनः फोन नउठ्दा सचिव नै आजित !

निजामती प्रशासन शाखाका कर्मचारीलाई महानिर्देशक लोहनीले विश्वास नगर्दा समस्या आएको स्रोत बताउँछ ।

निजामती प्रशासन शाखामा उपसचिवद्वय महेश पान्डे र बाबुराम खनाल, शाखा अधिकृतद्वय दीपक रिजाल र बिष्णु पौडेल, नासुत्रय लक्ष्मी पौडेल, हेटनारायण रम्तेल र मित्र लुइटेल छन् ।

रातारात सरुवा निर्णय गरेर आइतबार बिहानै महानिर्देशक कार्यक्रमका लागि भन्दै पोखरा हिँडेपछि विभिन्न जिल्लाबाट सरुवा जानकारी लिन आएका कर्मचारी विभागमै रुमल्लिए । महानिर्देशकले फोन स्वीच अफ गरेर बस्ने र विभागमा बुझ्दा थाहा छैन भन्ने जवाफपछि केही स्वास्थ्यकर्मीहरुको अनुरोधमा प्रशासट टोली स्थलगत रिपोटिङका लागि स्वास्थ्य सेवा विभागमा पुगेको थियो ।

सम्बन्धित समाचार : सिंहदरवार छेउमै यस्तो : ३ दिनमा पनि जानकारी पुगेन २ किमी परको कार्यालयबाट

प्रशासन डटकमको निरन्तरको निगरानी र दबाबपछि कर्मचारीलाई कामकाजमा खटाईएको बारे वेवसाईटमा सूचना सार्वजनिक गरेको थियो तर अपुरो । करीब दुई हजार कर्मचारीको सरुवा निर्णय भएको भनिएकोमा स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह स्टाफ नर्स पदको १७० जनाको सूची मात्रै सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार : प्रशासन समाचार प्रभाव : स्वास्थ्य विभागद्वारा सरुवा गरिएका नर्सको सूची सार्वजनिक

विभागद्वारा कर्मचारी खटनपटनमा पटक पटक लापरवाही र मनपरी गरिरहँदा दुई किलोमिटर दूरीमा अवस्थित नियमक निकाय मुकदर्शक बन्छ भने अन्यायमा परेका कर्मचारीले कहाँ जाने ? गाहे अफ्ठेरो कस कहाँ पुगेर पोख्ने ?

विभागले सरुवा सूची नै गोप्य राख्नुले स्पष्ट हुन्छ कि दालमा केही कालो छ , यदी सही निर्णय नै गरेको हो भने हप्तौँसम्म सूची लुकाएर कर्मचारीलाई यसरी किन रुमल्याउनु पथ्र्यो र ? यसबारे सम्बन्धित निकायको समयमै ध्यान पुगोस् र ति हजारौं कर्मचारीलाई यसको जवाफ दिइयोस् ।

हेर्नुहोस् स्वास्थ्य सेवा नियमावली

Tags :
प्रतिक्रिया दिनुहोस