सिंहदरवार छेउमै यस्तो : ३ दिनमा पनि जानकारी पुगेन २ किमी परको कार्यालयबाट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिंहदरवार छेउमै यस्तो : ३ दिनमा पनि जानकारी पुगेन २ किमी परको कार्यालयबाट


प्रशासन विशेष ब्युरो

३ मंसिर २०७५, सोमबार


स्वास्थ्य सेवा विभाग

काठमाडौँ । स्वास्थ्य सेवा विभागदेखि स्वास्थ्य मन्त्रालयसम्मको दुरी दुई दशमलव दुई किलो मिटर अर्थात् गाडीमा ७ मिनेट लाग्छ । यदि सवारी नचल्ने कुनै दुर्गम ठाउँ हुँदो हो भने दुई किलोमिटर पार गर्न जतिसुकै उकाली ओराली भएपनि बाटो नापेरै हिँड्दा आधा घण्टा भन्दा बढी त पक्कै लाग्दैन । तर मुलुकको राजधानी काठमाडौँ जहाँ सबै सेवासूविधा उपलब्ध छन् गाडी घोडादेखि इन्टरनेटसम्म, त्यही ३ दिनसम्म पनि सूचना पुग्न सक्दैन ।

यो कुनै एकादेशको दन्त्य कथा होइन, न त एकासमयको नै ! चार दिन अघि अर्थात् कार्तिक ३० गते काठमाडौँको टेकुस्थित स्वास्थ्य सेवा विभागले गरेको सरुवाको निर्णय आइतबार(दुई गते)हिजो साँझसम्म पनि सिँहदरवारकै पर्खाल पारिपट्टि अवस्थित रामशाह पथस्थित स्वास्थ्य मन्त्रालयसम्म नपुगेको वास्तविक घटना हो ।

जुन कुरा मन्त्रालयका निमित्त सचिव सुशिलनाथ प्याकुरेलले नै भनेका हुन् । कार्तिक मसान्तसम्म सरुवा गर्नुपर्ने नियमानुसार अन्तिम दिन ३० गते शुक्रवार अबेर मात्रै सरुवा निर्णय गर्दै विभागका निमित्त महानिर्देशक(डिजी) गुणराज लोहनी आइतबार बिहानैदेखि कार्यालय छोडेर मोबाइलसमेत अफ गरेर बसे । कार्यालयका कुनैपनि फोनहरू उठेनन्, अन्य कर्मचारीले समेत मोबाइल अफ गरेर बसे । भेटे जतिकाले थाहा छैन, बोल्न मिल्दैन भन्दै पन्छिए । यसै विषयमा मन्त्रालयका निमित्त सचिवसँग जानकारी लिन खोज्दा बिहानसम्म म बुझ्छु भनेका उनले अबेर ५ बजे सोध्दा अझै महानिर्देशसँग सम्पर्क हुन नसकेको र सरुवाको जानकारी मन्त्रालयमा प्राप्त भई नसकेको बताए । ‘सरुवा भएको छ भन्नेसम्म सुन्नमा आएको छ तर के कति केही थाहा छैन,’ उनले भने ।

विभागमा फोन नउठ्ने, तालुक मन्त्रालयलाई जानकारी नहुने अनि सम्बन्धित व्यक्तिबारे कोही कसैलाई थाहा नहुने अवस्थाको वास्तविकता बुझ्न प्रशासन टोली विभाग पुग्यो । विभागबाहिर तमाम कर्मचारीहरू रुमल्लिरहेका थिए । सरुवाबारे बुझ्न भेला भएका उनीहरू निकै टाढाटाढाबाट उपस्थित भएका थिए । तर सरुवा भयो या भएन ? अनलाइन फाराम तथा टिपाएको आधारमा आफू परियो या परिएन ? सरुवा भएको भन्नेबारे नै सूचना नपाउँदा उनीहरू अन्यौलतामिश्रित आक्रोशमा देखिन्थे ।

सप्तरीबाट आएकी एक महिला कर्मचारी भन्दै थिइन्–‘सरुवा भयो भन्ने सुनेर आएँ तर लिस्ट कतै देखिँदैन । धेरैजसो कर्मचारी कार्यालयमै छैनन्, भेटिएकालाई सोध्यो थाहा छैन भन्छन्,’ उनले प्रतिप्रश्न गरिन् –‘५ बजेसम्म त सूचना बोर्डमा टाँस्छ होला नि है ?’

खोटाङबाट आएका अन्य तीन जना स्वास्थ्यकर्मीको गुनासो पनि उस्तै थियो । १० बजे पुगेर साढे ३ बजेसम्म विभाग परिसरमै गफिँदै बसेका उनीहरू भन्दै थिए, ‘भई सकेको निर्णय वेबसाइटमा राखी दिएको भए, खोटाङबाट काठमाडौँ पुग्नुपर्दैनथ्यो । यहीँ पुगेर पनि थाहा छैन, कहिलेसम्म अन्योलतामै रुमल्लिनु पर्ने हो,’ उनको भनाई थियो ।

हामी महानिर्देशकको कार्यकक्षतर्फ लाग्यो । उनका पिएको कोठामा पाँच/सात जना उभिएरै सरुवाबारे बुझ्दै थिए । ती कर्मचारीको जवाफ थियो –‘केही दिनपछि वेबसाइटमा राख्छ अनि ज जसको लिष्टमा नाम त त्यसको कार्यालयबाट चिठी आउँछ ।’

यसै बिचमा एकजना महिला कर्मचारी अनलाइनमा भरेका विवरण मोबाइलबाट देखाउँदै भन्दै थिइन् ‘सरुवा त भयो होला नि ?’
कर्मचारी : भई सक्यो अब, अव भनेर हुँदैन !

महिला नः पहिल्यै भरेको हो सर ‘चैतदेखि ३ चोटि भरिसकेँ ।’
कर्मचारी : ‘फाइनल लिष्ट नै भइसक्यो । अब वेवसाईटमा हाल्छन् ।’

महिला : चिठी हुलाकमा हाल्न त यहाँ सार्वजनिक हुनुपर्‍यो नि ? वेवसाईटमा भई सक्यो सर
कर्मचारी : अब हाल्छन् भोलि पर्सि

महिला : अनि हाम्रो के भयो होला त ?
कर्मचारी : अव थप्ने घटाउने केही पनि हुँदैन जे भइसक्यो ।

महिला : त्यही थप्ने घटाउने गर्नलाई त सार्वजनिक नगरेको भन्छन् ?
कर्मचारी : –टायम लाग्छ हुलाकमा हाल्न(कुरा अन्तै कुरा मोड्दै) ।

महिला : चिठी हुलाकमा हाल्नलाई त ……
कर्मचारी : तपाईँलाई कसले भन्यो थप्ने घट्ने भइराछ भनेर त्यसैलाई भन्नु त्यसो भए । (उनी एकाएक सन्किन्छन्)

महिला : मैले त सुनेको कुरा भनेको खै के खै के उनी दिक्किँदै साईड लागिन् ।

यतिकैमा हाम्रो टोलीले इस्क्यूज मि भन्दै महानिर्देशबारे सोध्यौँ । उनले आज बिहानै पोखरा गएको बताए । प्रादेशिक समीक्षा गोष्ठी योजना तर्जुमाका लागि गण्डक प्रदेश गएको र उनको अनुपस्थितिमा व्यवस्थापन महाशाखाको निर्देशक मोहम्मद दाउद रहेको बताए ।

हामी व्यवस्थापन महाशाखामा गयौँ दाउदलाई भेट्न । उनी कार्यकक्षमै थिए । विभागले सरुवा गरेको विषयमा मन्त्रालयसमेतलाई थाहा रहेनछ यहाँलाई केही थाहा छ कि ? –दाउँदलाई सोध्यौँ ।

मलाई पनि थाहा छैन सर, आज बिहानसम्म डिजीसाप यही हुनुहुन्थ्यो । आज पोखरा जानुभएको छ समीक्षा बैठकका लागि ।

कार्यालयको कामको सिलसिलामा भ्याली बाहिर जानुपर्ने भएकोले आफूले गर्दै आएको दैनिक काम गर्न उनलाई चिठी छोडेर लोहनी गण्डक लागेका रहेछन् ।

निमित्त महानिर्देशकलाई नै विभागको सरुवाबारे जानकारीसम्म छैन ? भन्ने हाम्रो थप प्रश्नमा उनले भने–‘मलाई दैनिक प्रशासनिक काम गर्ने गरी निमित्तको जिम्मेवारी आज प्राप्त भएको छ तर सरुवाबारे कुनै जानकारी भएन ।’

स्वास्थ्य सेवामा करिब ३५ हजार कर्मचारी छन् । नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मै विभिन्न क्षेत्रमा रही काम गर्दै आइरहेका छन् । यी सबै कर्मचारीको अभिभावकका रूपमा रहँदै आएको स्वास्थ्य विभागले आफ्नै परिवारका सदस्यहरूको बारेमा भएको निर्णय तीन दिनसम्म पनि सार्वजनिक नगर्नु, आफ्नो सरुवा भयो कि भएन भन्ने जानकारी लिनलाई मात्रै दुरदराजबाट काठमाडौँसम्म धाउनु, सुनधाराका महंगा होटेलमा बसेर भए या नभएको जानकारी कुर्नु, भएको भए त गरेको खर्च चित्त बुझ्ला यदि नभएको अवस्थामा थप दिक्दारी भएर फर्केको स्वास्थ्यकर्मीले नागरिकलाई दिने सेवा कस्तो होला ? –सिँहदरवारका शासक/प्रशासकलाई कहिल्यै नभएको ज्ञात !

अझ सुशासनयुक्त राज्यको परिकल्पनामा डुबिरहेका नीति निर्माताहरूलाई यसबारे जानकारी भयो होला कि भएन होला ? यस अघिको सेटिङबारे खासै जानकारी लिए जस्तो लागेन । जुन हिसाबले बदमासी भएको थियो, त्यस अनुसार कारबाही भएको कहीँ कतै सुनिएन । मात्र, समाचारको दबाबमा सूची वेबसाइटमा राख्नेसम्म भयो । के यति नै थियो त कारबाही ?

सम्बन्धित समाचार : कर्मचारी सरुवामा ‘चलखेल’

पुनः त्यही शृङ्खला दोहोरिँदा र मन्त्रालयका सचिवले नै विभागका काम कारबाहीबारे बेखबर छु भनिरहँदा अन्यायमा परेका कर्मचारीले कसकहाँ जाने गुनासो राख्न ? सचिवको फोन महानिर्देशकले उठाएन भनिरहँदा के केलाई भन्दा देख्नेलाई लाज जस्तो भएन र भन्या !

सम्बन्धित समाचार : ‘गुपचुप सरुवा’ गरेर महानिर्देशक सम्पर्कविहिनः फोन नउठ्दा सचिव नै आजित !

सचिवकै फोन नउठाउने महानिर्देशकले अरु कर्मचारीका गुनासा के गरी सुन्नु, सरुवा भयो भएन भनेर बुझ्न काठमाडौं नै पुग्दा त विभागमा भेटिँदैनन् । विभागीय निकायबाट हुने गरेका यस्ता गतिबिधिबाट ति कर्मचारी के सिक्छन् र उनीहरुले सेवाग्राहीलाई के सिकाउँछन् ? सरासरी भन्दा जे आफूले जानेको हुन्छ र भोगेको हुन्छ त्यही नै सिको गर्ने र वास्तविकता मान्ने गरिन्छ नि हैन र ? यहाँ यस्तो व्यवहार भोगेर गएका कर्मचारीहरु आ आफ्नो कार्यालयमा फर्केपछि कस्तो व्यवहार गर्छन्

हजारौँ कर्मचारीले सरुवाका लागि अनलाइनमा आवेदन दिएका छन् । स्रोतका अनुसार ४ हजार बढी निवेदन प्राप्त भएका छन् । तर प्रक्रियाअनुसार हुनेमा कोही विश्वस्त छैनन् । मन्त्री, राज्यमन्त्रीको सचिवालयबाटै हजार भन्दा बढी लिष्ट विभाग पठाइएको खबर छ । ट्रेड युनियन, मन्त्रालयका सचिव तथा अन्य माथिल्ला तहका कर्मचारी, हिम चिम(चिनजान)का कर्मचारी, सरुवामा हालिमुहाली हुनेहरूका आफ्ना तथा आफन्तका मान्छे गर्दा कतिजनाको निष्पक्ष होला ? जो नितान्त कर्मचारी मात्र हुन्, कोही कसैको पुच्छर समातेका छैनन् त्यस्ता कर्मचारी कति होलान् र तिनको हविगत के होला ? र, सधैँ यही अवस्थाले हाम्रो सेवा प्रवाहको अवस्था कहाँ पुग्ला ? यसबारे कसलाई सोच्ने फुर्सद होला !

यदि यो सेटिङ होइन भने यत्रो समय हुँदाहुँदै अन्तिम दिन रातारात मात्रै किन निर्णय गर्नुपर्‍यो ? र, निर्णय भइसकेको विषय किन यत्रो दिन लुकाउनु पर्‍यो ? महानिर्देशकले मोबाइल नै स्विच अफ गरेर किन बस्नुपर्‍यो ? अन्य कर्मचारी किन तर्सिनु पर्‍यो ? हरेक जानकारी राख्ने मन्त्रालयलाई आफ्नै विभागले गरेको सरुवा निर्णय बारे थाहा हुँदैन र !

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायका कर्मचारी व्यवस्थापनमा देखिएको श्रृंखलावद्ध ‘बदमासी’ लाई सरकारले बेलैमा लगाम नलगाउने हो भने यो बेथिति अझ झाँगिदै जाने छ । अराजकताले सीमा नाघ्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस