कर्मचारी सरुवामा ‘चलखेल’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी सरुवामा ‘चलखेल’


२६ भाद्र २०७५, मंगलबार


कर्मचारी सरुवा

काठमाडौं । स्वास्थ्य सेवा विभागले हालै गरेको कर्मचारी सरुवामा आर्थिक ‘चलखेल’ भएको पाइएको छ । कतिपयको सरुवामा ऐन/कानुन मिचेको पाइएको छ । स्रोतका अनुसार तराईका कतिपय कर्मचारीको परीक्षणकाल नसकिँदै सरुवा भएको छ । ‘ती कर्मचारीबाट पैसा लिएर सरुवा गरिएको हुनसक्छ,’ स्रोतले भन्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव निकट मानिने ट्रेड युनियन मधेसी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादव र विभागका महानिर्देशक डा. गुणराज लोहनीका पिए लीला भण्डारी, मातृका शर्मा, ईश्वर रेग्मी, वसन्त श्रेष्ठलगायत व्यक्तिहरूको सक्रियतामा आर्थिक चलखेल गरेको स्रोतको आरोप छ ।

विभागले गत मंगलबार १७ सय कर्मचारीको सरुवा गरेको थियो ।

स्रोतका अनुसार स्वास्थ्य सचिव पुष्पा चौधरीले विभागबाट पठाइएको सरुवा सूची रुजु नगरी सदर गरेकी थिइन् । ‘यसले पनि सरुवामा चलखेल भएको आशंका उत्पन्न हुन्छ,’ स्रोत भन्छ ।

स्वास्थ्य सचिव चौधरी सरुवामा त्रुटि भएको स्वीकार्छिन् । ‘पहिले चार–पाँच सय जना कर्मचारी सरुवा गरिँदा पनि विभिन्न त्रुटि हुन्थे । अहिले त झन् १७ सय कर्मचारीको सरुवा भएको छ, यसमा त्रुटि हुनु स्वभाविकै हो,’ उनले भनिन्, ‘तर, तत्काल त्रुटि सच्याउनुपर्छ ।’ यसका लागि विभागका महानिर्देशकसँग छलफल थाल्ने उनले बताइन् ।

मन्त्रालयले स्वास्थ्यका कर्मचारी सरुवा गर्न विभागलाई अधिकार प्रत्यायोजन गरेकाले यसमा विभागको नै जवाफदेहिता हुनुपर्ने उनको तर्क छ ।

विभागका प्रवक्ता महेश पाण्डे आर्थिक चलखेलको आरोप निराधार भएकोे दाबी गर्छन् । ‘यो ‘प्राविधिक गल्ती’ हो,’ उनले भने, ‘यदि परीक्षणकाल नसकिएका कर्मचारीको सरुवा भएको रहेछ भने फिर्ता बोलाउँछौं ।’ यसबारे विभागका महानिर्देशक डा. गुणराज लोहनीसँग बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा हुन सकेन ।

एकै दरबन्दीमा तीन–चार कर्मचारीको सरुवा !
कैलालीको पहलमानपुर स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको एक दरबन्दी छ । तर, विभागले सो दरबन्दीमा चार जनाको सरुवा गरेको छ । सो स्थानमा बझाङको कोटभैरव स्वास्थ्य चौकीमा कार्यरत रमेश बुढा, दार्चुलाको रानीशिखर स्वास्थ्य चौकीमा कार्यरत जनकराज पाण्डे, अछामको पायल स्वास्थ्य चौकीमा कार्यरत प्रेमकुमार बिके र बाटुलासैन स्वास्थ्य चौकीमा कार्यरत प्रकाश चौधरीको सरुवा गरिएको छ ।

दैलेखको नाउलेकटुवाल र बाँकेको रझेना स्वास्थ्य चौकीमा पनि एक दरबन्दीको हेल्थ असिस्टेन्ट पदमा तीन-तीन जनाको सरुवा गरिएको छ ।

नाउलेकटुवालमा रोल्पाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रबाट लक्ष्मीकुमारी रावत, मकवानपुरको चित्लाङ स्वास्थ्य चौकीबाट प्रेमबाट खड्का र हुम्ला जिल्ला स्वास्थ्य कार्यालयबाट टेकबहादुर खड्काको सरुवा गरिएको छ ।

यस्तै, रझेनामा बाँकेकै फत्तेपुर स्वास्थ्य चौकीबाट देवेन्द्रकुमार केसी, मकवानपुरको सुकौरा स्वास्थ्य चौकीबाट भरतबहादुर शाही र सुर्खेतको धुमखरे स्वास्थ्य चौंकीबाट नन्दाकुमारी गिरी सेन सरुवा भएका छन् ।

‘गाउँपालिकाले चार/पाँच जनाको नाममा सरुवा सहमति दिँदा एकै दरबन्दीमा तीन–चार जनाको सरुवा भएको हो,’ प्रवक्ता पाण्डेले कुतर्क गरे । त्यसरी सरुवा भएका कर्मचारीको सोही जिल्लाका अन्य कार्यालयमा व्यवस्थापन गरिने उनले बताए ।

सरुवा सूचीमा कतिपय कर्मचारीको नाम र संकेत नम्बर पनि गलत छ ।

सरुवा सूची प्रकाशन गर्न आनाकानी
विभागले सरुवा सूची प्रकाशन गर्न आनाकानी गरेको थियो । सरुवाको निर्णय भएको दुई दिनसम्म पनि सूची प्रकाशन नभएपछि टे«ड युनियनले सूची प्रकाशन गर्न दबाब दिएको थियो । ‘विभागले कर्मचारी सरुवा गरेको दुई दिनसम्म पनि सूची सार्वजनिक नगरेपछि हामीले दबाब दिएका थियौं । त्यसपछि मात्रै सूची सार्वजनिक भयो,’ ट्रेड युनियनका एक नेताले भने ।

 

हेर्नुहोस् सरुवा सूची

Tags :
प्रतिक्रिया दिनुहोस