विषयगत प्रश्नको उत्तरको नमुना तथा समाधानको तरिका « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विषयगत प्रश्नको उत्तरको नमुना तथा समाधानको तरिका


२० श्रावण २०७५, आइतबार


लोक सेवा

आजको हाम्रो प्रस्तुतिमा लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत तहको परीक्षाको द्वितीय पत्र शासन प्रणाली अन्तर्गतको एउटा नमुना प्रश्नको समाधान प्रस्तुत गरेका छौं ।

प्रश्न : कानुनको शासन भन्नाले के बुझिन्छ ? यसका आधारभूत पक्षहरू उल्लेख गर्दै नेपालको वर्तमान संविधानमा कानुनको शासनको प्रत्याभूतिका लागि व्यवस्था गरिएका मुख्य प्रावधानहरूको चर्चा गर्नुहोस् । (अंकभार : ४+२+४=१०)

कानुनको शासन (Rule Of Law):

“Supremacy of Law”

जनप्रतिनिधिद्वारा प्रजातान्त्रिक मूल्य र मान्यताको परिधिभित्र रही तर्जुमा गरिएको कानुनको अधिनमा संचालन हुने शासन नै कानुनको शासन हो । यसले सीमित र जनउत्तरदायी सरकारको मान्यतालाई अंगिकार गरेको हुन्छ । “All are equal before the law and all are under the law” कानुनको शासनको मुल मन्त्र हो । कानुनको शासनको सुरुवात सन् १२१५ को म्याग्नाकार्टाबाट भएको हो । यस अवधारणको व्याख्याताको रूपमा अंग्रेजी कानुनविद् A.V. Dicey लाई लिइन्छ ।

डायसीका अनुसार कानुनको शासन निम्न विशेषताहरूले युक्त हुन्छ :

  •  स्वेच्छाचारी शक्तिको अभाव,
  •  कानुनको दृष्टिमा सबै समान (कानुनी समानता र सर्वोच्चता)
  •  संविधान सामान्य कानुनको उपज ।

कानूनको शासनमा,

  • कानुन न्यायपूर्ण, पक्षपातरहित तथा तर्कसंगत हुन्छ ।
  • कानुनको समान संरक्षण हुन्छ ।
  •  स्वेच्छाचारी शक्तिको अभाव हुन्छ ।
  • कानुनको पालना सबैले गर्नुपर्छ ।
  • नागरिक अधिकार तथा मानव अधिकारको प्रत्याभूति हुन्छ ।
  •  प्रशासकीय अधिकारीहरू कानुनको दायराभित्र रही अधिकारको प्रयोग गर्छन् ।
  •  कानुन उल्लंघनकर्तालाई कानुनद्वारा नै दण्ड र सजाय दिने व्यवस्था हुन्छ ।

कानुनको शासनका आधारभूत पक्षहरू :

  •  लोकतान्त्रिक शासन पद्धति,
  •  वैधानिक सरकार,
  •  स्वेच्छाचारी शक्तिको अभाव,
  •  लिखित र स्पष्ट कार्यविधि कानुन,
  •  शक्ति पृथकीकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बन,
  •  स्वतन्त्र, सक्षम एवम् पहुँचयोग्य न्यायपालिका,
  • न्यायिक पुनरावलोकन,
  •  स्वीकृत मूल्य मान्यताको अवलम्बन,
  • विकेन्द्रित शासन पद्धति,
  •  अधिकार र कर्तव्यप्रति सचेत जनता,
  • तोकिएको प्रक्रियाद्वारा कानुन निर्माण गर्ने पद्धति ।

नेपालको संविधान र कानुनको शासन
नेपालको वर्तमान संविधान जनप्रतिनिधिद्वारा निर्मित लोकतान्त्रिक संविधान हो । प्रस्तावनामै कानुनी राज्यको अवधारणा र लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राज्य निर्माण गर्ने उल्लेख गरिएको वर्तमान संविधानलाई कानुनी शासनको वेदकै रूपमा लिन सकिन्छ ।

संविधानमा उल्लेखित केही प्रावधानहरू (विशेषगरी मौलिक हक) विषयगत कानुनको अभावमा तुरुन्तै प्रचलनमा आउन नसकेका कारण वर्तमान संविधानले कानुनको शासनलाई पूर्णतः कायम गराउन सक्षम नभएको भन्ने आवाजहरू पनि यदाकदा सुनिन्छन् । यद्यपि संविधान सभाबाट निर्माण भएको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कानुनको शासन स्थापना गर्न भएका व्यवस्थाहरू देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

  •  संविधान मूल कानुन हुने व्यवस्था (धारा १ )
  •  ३१ वटा मौलिक हकको व्यवस्था,
  •  कानुनको दृष्टिमा सबै नागरिक समान हुने व्यवस्था,
  •  संवैधानिक आयोगको रूपमा मानवअधिकार आयोग,
  •  स्वतन्त्र तथा सक्षम न्यायपालिका,
  •  शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बन,
  •  मौलिक हक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको,
  •  मौलिक हक उल्लंघन भएमा कानुनी उपचारको व्यवस्था गरिएको,
  •  संवैधानिक इजलासको व्यवस्था,
  •  आवधिक निर्वाचन र बालिग मताधिकारको व्यवस्था ।

निष्कर्ष
कानुनको शासन, न्यायमा पहुँच तथा पारदर्शी शासन प्रणाली संयोगले होइन, प्रतिवद्धताले सुनिश्चित हुन्छन् । नेपालको संविधानले उल्लेखित सबै पक्षहरूको सुनिश्चितताको निम्ति प्रतिवद्धता व्यक्त गरेको पाइन्छ । सो कुरा प्रस्तावना, राज्यका निर्देशक सिद्धान्त तथा मौलिक हकलगायत अन्य विविध प्रावधानहरूबाट समेत प्रस्ट हुन्छ । अबका दिनमा संविधानको पूर्ण कार्यान्वयनमार्फत कानुनको शासनको व्यावहारिक पालना गर्न सम्बद्ध सबै पक्षको पहल जरुरी छ ।

प्रश्नको हल कसरी गर्ने ?

समय विभाजन
अंकका आधारमा समय विभाजन गर्दा शाखा अधिकृत तहको परीक्षामा १० अंकको एउटा प्रश्नका लागि १८ मिनेटको समय प्रदान गरिएको हुन्छ । यसलाई निम्न ढंगले विभाजन गरी उत्तर लेख्न सकिन्छ ।

  •  प्रश्न अध्ययन तथा विविध : (२ मिनेट) यसमा प्रश्नले खोजेको तथ्य तथा विषयवस्तुको पहिचान गर्ने ।
  •  प्रस्तुत प्रश्न मूलत तीन खण्डमा विभाजन गरिएको छ । जुन कुरा प्रश्नमा अन्डरलाइन गरी संकेत गरिएको छ । अब प्रस्तुत प्रश्नमा हरेक खण्डका लागि समयको विभाजन गर्दा, पहिलो खण्डको लागि ६ मिनेट, दोस्रो खण्डको लागि ३ मिनेट र तेस्रो खण्डको लागि ६ मिनेट र निष्कर्षका लागि १ मिनेट गरी समय विभाजन गरी यस प्रश्नको समाधान गरिएको छ ।

समाधानको रणनीति

  •  समाधान Quote बाट सुरुवात गरिएको छ । यसले लेखनलाई आकर्षक तथा पठनीय बनाउन मद्दत गर्छ ।
  •  A.V. Dicey को कथन र कानुनको शासनको विशेषताबाट कानुनको शासन भन्नाले के बुझिन्छ भन्ने प्रश्नको समाधान गरिएको छ ।
  •  प्रश्नको दोस्रो खण्डमा आधारभूत पक्षहरू उल्लेख गर्नुहोस् भनिएको हुँदा र समयलाई समेत ख्याल राख्दै पक्षहरूको थप व्याख्या गरिराख्नु परेन ।
  •  प्रश्नको तेस्रो खण्डमा सकारात्मक तथा नकारात्मक दुवै पक्षको सम्बोधन गर्दै सकारात्मक पक्षलाई जोड दिइएको छ । यसले प्रश्नको उद्देश्य पूरा गर्छ ।
  •  निष्कर्षले समाधानलाई उत्कृष्टतापूर्वक टुंग्याउनुपर्छ । साथै यो आशावादी तथा समाधानकेन्द्रित रहनुपर्छ ।

वातावरण तथा विज्ञानसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर: भाग ३

विश्वको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर : भाग २

अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू :भाग 

कसरी गर्ने लोक सेवा तयारी ? 

 


प्रस्तुति :

 भोजराज भट्ट
 केदारप्रसाद खतिवडा


 

Tags :
प्रतिक्रिया दिनुहोस