बुढेसकाल लागेका महिलामा हुने ढाड दुखाइ र बच्ने सरल उपाय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बुढेसकाल लागेका महिलामा हुने ढाड दुखाइ र बच्ने सरल उपाय


१२ जेष्ठ २०७४, शुक्रबार


महिलाहरुलाई बृद्धावस्थामा सबैभन्दा बढी दुःख दिने अर्थात सताउने गरेको समस्या होः ढाड दुख्ने समस्या । किन धेरै ढाड दुख्छ ? कसरी यसबाट छुटकारा पाउन सकिन्छ ? अर्थात यो अवस्थामा ढाडको सुरक्षा कसरी गर्ने भन्ने बारेमा प्रशासन डटकमका लागि सिद्धराज उपाध्यायले दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसंग कुराकानी गरेका थिए । डा. सुनिलका केही टिप्सहरु:

उमेर ढल्केका महिलालाई हुने ढाडको दुखाइ र दुखाइको प्रकृति कस्तो हुन्छ ?

• सबैभन्दा बढी ढाडको दुखाइ बुढेसकालमा हुन्छ । प्राकृतिक रुपमा नै बुढेसकालमा मासंपेशी कमजोर हुँदै जान्छ, फिटनेशमा कमि आउछ त्यसमाथी हड्डी खिइने क्रम पनि बढी हुन्छ । अनि यो उमेरमा ढाडको हड्डी अन्य ठाँउका हड्डी भन्दा अझै बढि खिइने हुंदा सबै भन्दा बढी ढाड दुखाइ बुढेसकालमा भएको हो । सानातिना काम गर्दा समेत मेरmदण्डका दुखाई सजिलै आउन सक्दछन् । त्यति मात्र होइन डाढ दुख्ने कारण ढाडको फिटनेशमा ध्यान नदिने अनि ढाडको बढी तथा जथाभावी प्रयोगले पनि हुनसक्छ, व्यायाम नगर्ने तथा बढि बसेर पनि हुन सक्छ । साथै बसेर तथा निहुरिएर कामगर्दा पनि मेरुदण्ड बढि दुख्ने हुनसक्छ । पोस्चुरल केयर नहुँदा अर्थात कसरी बस्ने, कसरी उठ्ने, कसरी निहुरिने, काम कस्तो पोजीशनमा गर्ने लगायतका कुराहरुमा ध्यान नदिँदा पनि मेरुदण्ड तथा ढाडका विभिन्न खाले समस्या आउनसक्छन् ।

वृद्धावस्था लागेका महिनावारी रोकिएका महिलाहरुले त विशेष ख्याल राख्नुपर्छ । भिटामीन डी को शरीरमा कमि छ कि, क्याल्सीयमको कमि छ कि अथवा अस्टीयोपोरोसिस भन्ने हड्डि खोक्रो हुँदै जाने रोग छ कि, या त्यो रोग लाग्ने सम्भावना छ कि ? यी सबै कुरामा विचार पुर्याउनु पर्छ । होइन भने डक्टरकहाँ जादा धेरै ढिलो समेत भएको हुन सक्दछ । त्यसैले वृद्धावस्थामा त एकदमै सचेत रहनुपर्दछ ।

बुढेसकालमा कसरी गर्ने त ढाडको सुरक्षा ?

• एक नम्वरः स्वास्थ्य जाँच

मान्छेले के सोच्छ भने अलिकता ढाड दुख्या न हो किन डाक्टरकोमा जाने ? दुई चार दिन पछि आफैं ठिक भइ हाल्छ नि । नसा च्यापिएर भोलि ठुलै समस्या ननिम्तिएसम्म, थला नपरेसम्म डाक्टरकोमा नजाने बानी भएकाले पछि ठूलो समस्या झेल्नुपर्ने हुन्छ । समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न त्यति नै सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु भयो भने सम्बन्धित विशेषज्ञ कहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । यदि रोग लागेमा सक्दो चाँडो उपचार गराउन गईहाल्नु पर्छ ।

वृद्धावस्थामा महिलाले नियमित स्वास्थ्य जाँच गर्नैपर्छ । अन्य टेस्टका साथै स्वास्थ्य जाँचमा यो उमेरमा एक्सरे गर्न बिर्सनु हुन्न । एक्सरेमा हामीलाई शंका लागेमा बोन डेन्सीटि स्क्यान जसलाई हामी बोनडेन्सीयोमेट्रि भन्छौं, गर्न सकिन्छ । यस्ले हड्डी कति बलियो छ, कति कमजोर छ, हड्डी खोक्रो हुने अस्टिपोरोसिस भन्ने रोग लाग्ने सम्भावना छकि छैन ? कि लागिसकेको छ की ? आदि पत्ता लगाउन सकिन्छ ।

• दोस्रो नम्बरः निःशुल्क औषधीहरुको उपभोग सुरु गर्नुपर्छ ।

तपाईं सोच्नुहोला यो कस्तो औषधि ? वास्तवमा दुनियामा जति मेजर औषधीहरु छन् ती सबै फ्रि छन् । स्वच्छ पानी फ्रि नै छ । स्वच्छ हावा फ्रि नै छ । घाम पनि फ्रि अनि व्यायाम पनि फ्रि नै छ । अहिले शहरमा बस्ने हरेक पाँच व्यक्ति मध्ये चार व्यक्तिमा भिटामिन डी को कमि छ त्यस्को कारण घामको कमि नै हो । चाहे तपाई र म नै किन न हुँ । हाम्रो नेपालीको बानी हेर्नुहोस् त… दुर्दशा । निशुल्क औषधीलाई लिदै नलिने । त्यसको केही मतलवै छैन । डक्टरको भूमरिमा मात्रै परेका छौं हामी । डाक्टरले यस्तो चक्रव्युमा हालिदिन्छ हामी कहिले बाहिर निस्कनै सक्दैनौ ।

घाम ताप्दा घाम प्रत्यक्ष छालामा पार्नुपर्र्छ । जसले भिटामिन डि दिन्छ । यसले शरीर भित्र हड्डीमा क्याल्सियम लुकाइराख्न मद्दत गर्छ जस्लेगर्दा हड्डी बलियो बन्छ ।

तेस्रो नम्बरः व्यायाम तथा खानपिन

बुढेसकाल भनेको पनि एउटा नयाँ पिरियड हो । जीन्दगीमा थुप्रै काम गरियो अब बुढेसकालमा बसेर खाने हो भन्ने जुन हामी नेपालीको धारणा छ त्यसलाई परिवर्तन गर्नै पर्छ । बुढेसकाल भनेको सक्रिय रहने उमेर हो । जो सक्रिय छ उ नै स्वस्थ छ । त्यसैले बुढेसकालमा पनि सक्रिय रहनै पर्छ ।

व्यायाम गरिरहने अनि सक्रिय रहिरहनु महत्वपूर्ण छ । जत्ति नै क्याल्सियम खाउँ, जत्ति नै घाम तापौं, यदि शारीरिक व्यायाम भएन भने त्यो क्याल्सियम हड्डी भित्र रहिरहन सक्दैन । पिसावबाट शरीरबाट बाहिर जान सुरु हुन्छ । व्यायामले हड्डी, मांसपेशि तथा जोर्नि बलियो तथा लचिलो राख्छ । ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को बिकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

१. पसिना निकाल्ने जस्तै हिंड्ने, दौडने खाले व्यायाम,
२. तन्काउने खाले योग वा स्ट्रेचिंग खाले व्यायाम, 
३. शरीर तथा ढाड बलियो बनाउने खाले व्यायाम ।

यदि ढाड सम्वन्धि कुनै समस्या छ भने पहिला बिशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउदो तथा फाइदा दिने ढाडका व्यायाम गर्ने गर्नुपर्दछ ।

ढाडलाई स्वस्थ राख्न खानपिनमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ त्यस्तै ढाडका लागी पनि प्रशस्त पानी तथा प्रशस्त क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यस्का साथै चिनि, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्दछ । पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमिले हड्डी खिइने हुनसक्दछ । साथै हड्डी खिइन रोक्ने खाले भिटामिन, सप्लिमेन्टको आदिको प्रयोग पनि गर्नसकिन्छ ।

नेपाली महिलाले खानै नहुने खाना यस्प्रकार छन्: चिनि, गुलिया मिठाई, फास्ट अनि जंकफुड जस्तै बिस्कुट, चाउचाउ आदि, चर्को तथा नुनिलो खाना वा खाजा, तारेका खाना, सेतो भात, मैदा, ब्रोइलर तथा रातो मासु । यी खानाले शरीरमा क्याल्सियम कमि गराएर हड्डी खियाउने गर्दछन् ।

चौथो नम्बरः पोश्च्युरल केयर 

शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोश्चुरल केयर भनिन्छ । मेरुदण्ड अर्थात गर्दन, ढाड, कम्मरको दुखाईको उपचारमा यो भन्दा महत्वपूर्ण केहि पनि छैन ।

हामी नेपालीको संस्कृति के छ भने बस्ने–निहुरिने, बस्ने–निहुरिने वाहेक तेस्रो चिजै छैन । यस्लाई परिवर्तन गर्नैपर्छ । बस्दा तन्किएर सिधा नै बस्नुपर्दछ । सामान उठाउँदा कहिल्यै पनि निहुरिएर नउठाउने तथा यस्को साटो पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान समाई उठाउने गर्नुपर्छ ।

लामो समय बसिरहने वा उठिरहने गर्नु हुंदैन । कामको बिच बिचमा हरेक घण्टामा ब्रेक लिएर ५ वा १० पटक हल्का पछाडि उल्टो झुक्ने वा केहि तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ । माथिका यी बानीले हाम्रा ७० प्रतिशत ढाडका समस्या हटाउन सक्दछ ।

पाँचौं नम्बरः थेरापी

• थेरापी भनेको उपचार गर्ने नै हो । यो घाममा बसेर मालिस लिने हुन सक्छ, तातोले सेक्ने हुनसक्छ, व्यायाम हुनसक्छ वा विश्राम हुनसक्छ वा डक्टरलाई भेटेर उपयुक्त अन्य उपचार पनि लिन सकिन्छ ।

• यहाँले भनेकै प्रक्रियाहरु पुरा गर्न हाम्रो आर्थिक, भौतिक तथा अन्य पारिवारीक परिवेशमा सम्भव छ त ? जो साँधुरो संरचनामा जेनतेन अटाइ रहेका छन् उनीहरुले कसरी, कुर्सी, टेबुल राखेर लुगाधुन, भाडा माझ्न सक्छन् ?

• पहिलो कुरा त मानसिकता परिवर्तन गर्नुपर्यो । सम्भव छैन भन्ने मानसिकतालाई सम्भव छ भन्ने मानसिकतामा नल्याएसम्म यो सम्भव छैन । त्यसैले एक नम्वरमा सोच परिवर्तन जे पनि सम्भव छ ।

• निहुरेर लगाउने झाडु पनि किन्नु पर्छ, उठेर लाउने झाडु पनि किन्नु पर्छ । दुइटै किन्ने नै हो । घरमा बनाउने त होइन । दुईटै झाडुको मूल्यमा खासै अन्तर छैन पचास रुपैया मात्र अन्तर हो । त्यो पचास रुपैयाँ आज लगानी गरेर भोलि पाँच लाख बच्छ भने त्यसमा खर्च गर्ने की नगर्ने ? एउटा ढाडको अप्रेसन गर्दा पाँच लाख त न्यूनतम खर्च हुन्छ आजको परिवेशमा । त्यो पचास रुपैयाँले भोलि पाँच लाख खर्च गराउँछ भने आजै सोच्ने कि नसोच्ने ? त्यस्तै पोछा पनि, उभिएरै लगाउने पोछा पनि पाइन्छ । गाउँमा यो कसरी सम्भव छ भन्नुहोला । गाउँमा पनि लौरो त पाइन्छ नै । तपाइँको घरमा भएको झाडु अनि पोछामा पनि लौरो बाँध्न सकिन्छ ।

•अब आयो कुरो काउन्टरको । गाउँ घरमा काउन्टर कसरी पाउने भन्नुहोला । के दुइटा फल्याक ल्याउन सकिंदैन ? फ्ल्याक नभएको ठाउँमा प्लाइबोर्ड प्रयोग गर्न सकिदैन ? रु ५ सय देखि १५ सय रुपैयाँ पनि लाग्दैन । मैले गराएर हेरिसकेको छु थुप्रै ठाउँमा ।

• बढि मै पन्ध्र सय रुपैयाँको लगानीले भोलि लाखौं बच्छ भने त्यो गर्ने की नगर्ने ? यो त इन्सुरेन्स गरे झैं हो । हजार/डेढ हजार खर्च गर्न डराइराख्नु भएको छ, त्यही भएर पाँच लाख खर्च गरिरहनु भएको छ । यो कुरा सबैले ख्याल राखौं जसले आज स्वास्थ्यमा लगानी गर्न सक्दैन, स्वास्थ्यका निम्ति समय दिन सक्दैन भोलि रोगको निम्ति समय दिनैपर्ने हुन्छ ।

• हामी अहिले महिलाको मात्र कुरा गर्दैछौं । लठ्ठी जोडेर झाडु पनि उठीउठी हिंडेर लगाउन सकिंदो रहेछ, लठ्ठी वाला पोछा पनि हिडेरै लगाउन सकिदो रहेछ, लुगा तथा भाँडा पनि उठेरै धुन सकिदो रहेछ । अथवा कुर्सीमा बसेर टेवुलमा राखेर पनि धुन सकिन्छ । काउन्टरमा राखेर पनि धुन सकिन्छ । भाँडा पनि त्यसरी नै माझ्न सकिन्छ । जुन कारणले रोग लगाउँछ म त्यही गर्छु तर दुखाई डक्टरले ठिक गरोस् भन्नुको अर्थ के हो भने “म दिनदिनै, दिनको दश पटक काट्छु तथा कोतर्छु डक्टरले घाउ ठिक गरोस् भन्नु हो । के यो सम्भव छ त ? पक्कै छैन । त्यही भएर पहिला बिरामीले गृहकार्य गर्न जरुरी छ । अनी क्लास वर्क अर्थात उपचार त हामी गराइहाल्छौं । उपचार, औषधी जेबाट भए पनि ठिक भइहाल्छ ।

• गाउँघरमा मान्छेले घासपात गर्नुपर्छ । गोवर फाल्नु पर्छ । गाइबस्तुको हेरचाह गर्नु पर्छ । यी काम गर्दा पनि सधै पटुका बाँध्ने अनि पोजिशनको ख्याल राखेर काम गर्न सकिन्छ । हाम्रा हजुर आमा, हजुरबालाई समस्या नहुनुको एउटा कारण छ । के कारण भन्दा तपाईले पनि सुन्नुभएको होला २४ हाते पटुका । उनीहरुले २४ हाते पटुका बाध्ने गरेका थिए । त्यसले त पुरै भागलाई राम्रो सपोर्ट गर्दो रहेछ । उनीहरुले सधैं बाध्ने हैनन, जहिले काम गर्ने हो त्यति बेला बाँधेर हिड्थे । त्यसले ढाडलाई धेरै सपोर्ट गथ्र्याे । त्यसले नसा च्यापिन दिएन ।

• अर्को नेपालीको सस्कृति के हो भने निहुरिएर सामान उठाउने । यो अर्को रोग हो । चाहे तपाइको पाँच सय रुपैयाँको नोटै खसोस् या ठूलो सामान भूइबाट उठाउनु परोस् । तपाईं अगाडी निहुरिएर उठाउनु हुन्छ । त्यसरी निहुँरिँदा दश देखि सय गुणा सम्म दवाव ढाडमा पर्छ । नसा त्यहाबाट च्यापनि शुरु हुन्छ । यसको सट्टा महिलाहरुले जे पनि काम गर्नु छ, उठाउनु छ, गोवर सोर्नु छ, टुक्रुक्क बसेर एउटा खुट्टा हल्का अगाडी र एउटा खुट्टा आधाफिट पछाडी राखेर काम गर्ने हो भने ढाडमा असर पर्दैन । अनि उठ्दाखेरी पनि सिधै उठ्नु प¥यो, निहुरिएर उठनु भएन । यो गर्दा खेरी सारा लोड खुट्टामा पर्छ ढाडमा पर्दैन ।

 

डा. सुनिल पौडेललाई तपाईले [email protected] मा ईमेल गर्न तथा आफ्ना जिज्ञासा वा प्रश्नहरु राख्न सक्नुहुन्छ ।

र यो पनि,

आफ्नो शरीर आफैले जाँच्नुहोस्

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ?

बुढेसकालमा ढाड दुख्ने कारण अनि बच्ने उपाय

 

Tags :
प्रतिक्रिया दिनुहोस