प्रायः वयस्क र बृद्ध उमेरमा गर्दन, ढाड, कम्मर बढी दुख्छ, यसको अर्थ बालबालिकालाई ढाड नै नदुख्ने भन्ने चाहिं होइन । के बृद्ध, के युवा, के वालक, सबैलाई मेरुदण्डको समस्या आउन सक्दछ वा ढाड दुख्न सक्छ । उमेर अनुसार ढाडको दुखाइ कस्तो हुन्छ त ? प्रशासन डट कमका लागि सिद्धराज उपाध्यायले दुखाई विशेषज्ञ डा. सुनिल पौडेलसंग उमेर अनुसार ढाड दुख्ने समस्या र निदानका उपायका बारेमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
उमेर समूह अनुसार दुखाइको प्रकार कस्तो हुन्छ र त्यसको समाधानको उपाय के हो ?
बालककाल
- कारण
बढी भन्दा बढी बच्चाहरुमा मेरुदण्ड वा ढाड दुख्ने समस्या उफ्रिदा, खेल्दा आउने चोट पटकबाट नै हुन्छ । - कसरि पत्ता लगाउने
साधारण चोटपटकमा डराउन पर्दैन तर हड्डी, लिगामेण्ट वा मांसपेशीमा भएको समस्या पत्ता लगाउन विशेषज्ञसंग जचाँएर वा जरmरत परेमा एक्स रे वा अल्ट्रासाउण्ड गरी निश्चिन्त हुनुपर्दछ । मासु एकदमै नै फाटेको छ, च्यातिएको छ र हड्डी भाँचिएको हो भने त्यसलाई सम्बन्धित बिशेषज्ञकोमा गएर उपचार गर्नु जरुरी देखिन्छ । - उपचार
चोटपटकबाट भएको ढाडको दुखाइमा आराम गर्नुपर्छ । यसको पहिलो २४ घण्टा एकदमै क्रिटिकल हुन्छ । त्यो बेलामा दिनको तीन पटक पन्ध्र–पन्ध्र मिनेटसम्म रmमालमा राखेर आइस दलिराख्नु भयो भने ९० प्रतिशत समाधान त्यसैले गर्नसक्छ । यो अवस्थामा शरीरलाई आराम चाहिन्छ त्यसैले आराम गर्नेे गर्नुपर्दछ । - खराब संस्कृति
हाम्रो अर्को खराव संस्कृति के छ भने मजाले तेल तताएर मालिस गरिदिईहाल्ने वा तातोले सेकिहाल्ने । यो खतरापूर्ण बानी हो । चोटपटकको कुनै पनि समस्यामा आइसले निकै शक्तिशाली काम गर्छ भने मालिस वा तातोले यस्लाई बढाउने काम मात्र गर्दछ । - आजभोलीको आधुनिक कारण
मोबाइल, ट्याब, ल्यापटप आदि निहुरिएर वा गलत पोजिशनमा चलाउनाले पनि गर्दन, ढाड, कम्मरको दुखाई हुनसक्छ । यस्ता समस्यामा पोजीशन वा पोश्चर केयर, मालिश तथा व्यायामले फाइदा दिन्छ । - अर्को कारण
केहि बच्चाहरुमा मेरुदण्ड वा ढाडका समस्यामा सिरिएस प्याथोलोजी लुकेको पनि हुनसक्छ । कसैलाई ढाडको क्षयरोग भएर ढाड दुख्छ । कसैलाई कुनै किसिमका क्यान्सर वा ट्युमर भएर हुन्छ त कसैको हड्डी बढी जोडिएर अथवा पूरै जोडिन नसकेर आदि कारणले पनि मेरुदण्ड दुख्छ । तर यों एकदमै कम अर्थात दुई प्रतिशत जतिमा मात्रै भएको पाइन्छ । यस्ता समस्यामा विशेषज्ञसंग जचाँएर सल्लाह अनुसार अगाडि बढ्नु पर्दछ ।
वयस्क
वयस्कहरुमा ढाड दुख्ने मुख्य कारण भनेको बढी तथा खराब प्रयोग(ओभर एण्ड मिस युज) नै हो । बसेको मान्छे बसेको बस्यै छ, उठेको मान्छे उठेको उठ्यै छ र घर वा काममा निहुरिएर काम गर्ने मान्छे निहुरिएको निहुरिएकै छ । यो ओभर युजलाई कम गर्नुपर्छ । केही समय ब्रेक लिनुहोस्, पोश्चरमा ध्यान दिनुहोस्, नियमित व्यायाम गर्नुहोस् । नभए यहि समस्या बढि नशा च्यापिन पनि सक्दछ ।
- टेवलमा काम गर्ने मान्छेले पिउने पानी टेवलमा नराख्नुहोस्, अलि टाढा राख्नुहोस् । ता कि चेयरबाट उठेर जाने, पिउने आउने आदि क्रममा मेरुदण्डलाई व्यायाम तथा रेस्ट मिलोस् ।
- आधा घण्टामा पाँच मिनेट ब्रेक लिनु वा यताउता टहल्नु ढाडको निम्ति काफी छ ।
- उठेर काम गर्ने व्यक्तिहरु जस्तोः टिचर, सेना, प्रहरी, सुरक्षा गार्ड आदिले हरेक घण्टा ब्रेक लिनुहोस अनि साइड, अगाडि तथा पछाडि तन्कनुहोस् ।
- निहुरिनुको साटो बसेर वा उठेर काम गर्नुहोस् ।
- टेवलमा वा निहुरिने वा बसेर काम गर्ने महिलाहरु वा निहुरिने आदिले हरेक घण्टा पाँच मिनेटको ब्रेकमा ढाडलाई उल्टो बंग्याउने अर्थात् पछाडितिर लानुहोस् । जसलाई हामी एक्सटेन्सन एक्सरसाइज भन्छौं । यो गर्नसक्नु हुन्छ ।
- बयस्क अवस्थामा यसरी ढाडको सुरक्षा गर्न सक्छौं । यस री ठिक नभएमा घरमै मालिस, व्यायाम, तातो सेक, मलहम लाउने आदि पनि गर्न सकिन्छ त्यस्ले पनि ठिक नभएमा विशेषज्ञ भेट्नै पर्दछ ।
वृद्ध
बुढेसकालमा हुने ढाडको दुखाइ हड्डी खिएर हुने डिजेनेरेटिभ परिवर्तनका कारण नै बढी हुन्छ । यसमा हामीले सबै आयाममा ख्याल राख्नु पर्छ ।
उपचार
- आफ्नो शरीरको पोजीशनको ख्याल अर्थात पोस्चुरल केयरमा ध्यान दिनुहोस् ।
- नियमित हिंड्ने खाले व्यायामका साथै शरीर बलियो बनाउने एक्सरसाइजहरु गर्ने गर्नुहोस् ।
- ढाडलाई स्वस्थ तथा बलियो बनाउने व्यायामहरु गर्ने गर्नुहोस् ।
- नियमित कपडा खोलेर घाम ताप्ने वा घाममा मालिस लिने गर्नुहोस् यस्ले भिटामिन डिको आपूर्ति गरि हड्डी बलियो बनाउंछ ।
- क्याल्सियम बढि भएका खाना खाने गर्नुहोस् ।