गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ?


२२ बैशाख २०७४, शुक्रबार


ढाड दुखाई आम मानिसका साझा समस्या हो । सबै उमेर समूहका मानिसलाई हुने साझा समस्या भएपनि घरमा हाउस वर्क गर्ने गृहिणी मेरुदण्ड, गर्दन, ढाड, कम्मर दुख्ने समस्याबाट सबैभन्दा बढी पिडित छन् । यस पटक हामीले तमाम् गृहिणीहरुको यो साझा समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर दुखाई विशेषज्ञ डा. सुनिल पौडेलसंग कुरा गरेका छौं । प्रस्तुत छ प्रशासन डट कमका लागि सिद्धराज उपाध्यायले तयार पारेको सम्वादको सम्पादित अंशः

घरायसी कामकाजी व्यक्ति तथा गृहिणिहरुले ढाडको हेरचाह कसरी गर्न सक्दछन् ?

एक नम्वरमाः पोस्चुरल केयर

शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोश्चुरल केयर भनिन्छ । मेररुदण्ड अर्थात गर्दन, ढाड, कम्मरको दुखाईको उपचार तथा प्रिभेन्सनमा यो भन्दा महत्वपूर्ण केहि पनि छैन । खासगरी गृहिणी र अन्य पेसामा लाग्नेहरुले पनि पोजिशन तथा बानी व्यहोरामा उत्तिकै ध्यान दिनु जरुरी छ ।

 घरायसी कामकाजी व्यक्ति तथा गृहिणिहरुले साधारण कामहरु जस्तै झाडु, पोछा लगाउंदा, लुगा धुंदा, भाँडा माझ्दा जस्ता काम भुईंमा बसेर कहिल्यै पनि गर्न हुदैंन । यी सबै कामहरु उठेरै गर्न सकिन्छ । यस्को लागी उठेरै बढार्ने झाडु, पोछा किन्नु पर्दछ साथै अन्य कामहरु काउण्टर वा टेबलमा उठेरै गर्न सकिन्छ ।
 सामान उठाउँदा कहिल्यै पनि निहुरिएर नउठाउने तथा यस्को साटो पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान समाई उठाउने गर्नुपर्छ । माथिका यी दुई बानीले गृहिणीका ६० प्रतिशत ढाडका समस्या हटाउन सक्दछ ।

 उठिरहनु पर्नेले बरु हिंडडुल गर्ने । सम्भव छ भने उठिरहँदा खेरी एउटा खुट्टा सानो स्टुलमा राख्ने गर्नुपर्दछ ।

 गृहिणीहरुले कुनै पनि काम निहुरिएर नगर्ने । या त उठेर गर्ने या हिडेर गर्ने । भूइमा गर्नुपर्ने काम छ भने टुक्रुक्क अर्थात् एउटा खुट्टा अगाडि एउटा पछाडि राखेर बसेर गर्र्ने गर्नुपर्दछ ।

दोस्रोः व्यायाम

ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को बिकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

१. पसिना निकाल्ने जस्तै हिंड्ने, दौडने खाले व्यायाम,
२. तन्काउने खाले योग वा स्टे«चिंग खाले व्यायाम
३. शरीर तथा ढाड बलियो बनाउने खाले व्यायाम ।

यदि ढाड सम्वन्धि कुनै समस्या छ भने पहिला बिशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ ।

तेस्रोः खानपिन

ढाडलाई स्वस्थ राख्न खानपिनमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ त्यस्तै ढाडका लागी पनि प्रशस्त पानी तथा प्रशस्त क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यस्का साथै चिनि, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्दछ । पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमिले हड्डी खिइने हुनसक्दछ ।

चौथोः भिटामिन डी

आजभोलिका धेरै मानिसहरुमा भिटामिन डि’को कमी छ । जसले गर्दा शरीरमा क्याल्सियम जम्मा हुन सकिरहेको छैन तथा हड्डी कमजोर हुंदै जान्छ वा दुखाई ठिक हुदैन । भिटामिन डि को लागि सबै भन्दा राम्रो घाम ताप्न सकिन्छ । हप्ताको १ घण्टा कपडा खोलेर नांगो छालामा घाम ताप्नु एकदमै राम्रो हुन्छ । सकिन्छ भने दिउसो समय भएको बेलामा घाममा बसेर ढाड तथा शरीरको मालिस लिनु अझै उत्तम । यो बेला अनुहार छोप्न सकिन्छ ।

पाँचौः नियमित चेक जाँच

मान्छेले के सोच्छ भने अलिकता ढाड दुख्या न हो किन डाक्टरकोमा जाने ? दुई चार दिन पछि आफैं ठिक भइ हाल्छ नि । नसा च्यापिएर भोलि ठुलै समस्या ननिम्तिएसम्म, थला नपरेसम्म डाक्टरकोमा नजाने बानी भएकाले पछि ठूलो समस्या झेल्नुपर्ने हुन्छ । समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न त्यति नै सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु भयो भने सम्बन्धित विशेषज्ञ कहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । यदि रोग लागेमा सक्दो चाँडो उपचार गराउन गईहाल्नु पर्छ ।

      डा. सुनिल पौडेललाई तपाईले [email protected] मा ईमेल गर्न तथा आफ्ना जिज्ञासा वा प्रश्नहरु राख्न सक्नुहुन्छ ।

 

र यो पनि,

आफ्नो शरीर आफैले जाँच्नुहोस्

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

प्रतिक्रिया दिनुहोस