सभापति देउवाद्वारा प्रधानमन्त्री दाहालको प्रशंसा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभापति देउवाद्वारा प्रधानमन्त्री दाहालको प्रशंसा


११ जेष्ठ २०७४, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा माओवादी केन्द्र बीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकोमा धन्यवाद दिएका छन् ।

सभापति देउवाले बुधबार एक विज्ञप्तिमार्फत काँग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमतिअनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै काँग्रेसले सबै राजनीतिक दलसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले काँग्रेस र माओवादी केन्द्रबीच मुलतः नेपालको संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सरकार गठन भएको १० महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको, बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको, सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सराहनीय काम गरेको चर्चा गरिएको छ ।

“यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सञ्चालन भएको हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धि प्राप्त भएको छ”– विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले प्रधानमन्त्री दाहालको कार्यको उच्च प्रशंसा गर्दै उनलाई हार्दिक बधाई दिनुका साथै सरकारको उपलब्धिका लागि सहयोग गर्ने सबै राजनीतिक दल र सबै नेपालीमा धन्यवाद व्यक्त गरेका छन् । उनले सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस