जनताको काम नगर्ने कर्मचारी अपवाद बाहेक टिक्नै सक्दैनन् « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जनताको काम नगर्ने कर्मचारी अपवाद बाहेक टिक्नै सक्दैनन्


८ पुस २०७३, शुक्रबार


उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? यी प्रसिद्ध पंक्तिलाई बिर्साउने राष्ट्रसेवक पनि धेरै छन्, नेपालको निजामती प्रशासन सेवामा । यस्तै मध्येका एक हुन्, सामान्य प्रशासन मन्त्रालयका उप सचिव कृष्णप्रसाद सोपकोटा । काँधमा जिम्मेवारी, ह्दयमा विनयशीलता र व्यवहारमा उत्तरदायी भावले ओतप्रोत हुँदै सधै सेवाग्राहीप्रति सकारात्मक सोच राख्ने उपसचिव नाम जस्तै कृष्ण वुद्धि, कर्म र सेवामा तल्लिन छन् । उनको ब्यस्त दैनिकीका बीच प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले उनीसंग कर्मचारीका समस्या र प्रवृतिबारे छोटो तर सार्थक वार्ता गरेका छन् । प्रश्तुत छ वार्ताको अंश ।
सेवाग्राही भन्छन् कर्मचारीले कामै गरिदिएनन्, कर्मचारी भन्छन् कामै छैन ! के हो चुरो कुरो ?
आम मान्छेले भने जस्तै कर्मचारीले कामै नगर्ने, कार्यालयमा नै नबस्ने, कामै नगरी यत्रतत्र हिड्ने भन्ने कुरा सबै निकाय र सबै कर्मचारीहरुमा लागु हुँदैन । प्रशस्त कार्य सम्पादन गरेका, जाँगरिला केही गरौं भन्ने भावना भएका कर्मचारीहरु पनि रहेका छन् । तर केही निकाय र केही कर्मचारीहरुको ढिलासुस्तीका कारण यस प्रकारको प्रश्न उठ्ने गरेको छ । सार्वजनिक प्रशासनमा गतिशीलताको कमी, प्रष्ट लक्ष्य तोकिएका कार्यहरुको अभाव, अवैज्ञानिक र प्रक्रियामुखी कार्यप्रणाली, सूचना प्रविधिको न्यून प्रयोग, कर्मचारीको क्षमता, मौद्रिक तथा गैर मौद्रिक तत्वको कमी, पुरस्कार र दण्डको अभाव लगायतका कारणले काममा अपेक्षाकृत सुधार आउन नसकेको हो । उच्च नेतृत्वको अलिकति टाइट कार्यशैली भएमा कर्मचारीहरु तुरुन्त ठाउँमा आइहाल्छन । किनकी आखिर कर्मचारी हो, जागिरको आधारमा जिन्दगी चलेको छ ।

 


कर्मचारी परिवर्तनको संवाहक हो ऊ हरहालतमा खुसी र तत्परताका साथ सेवा प्रवाहमा जुट्नु पर्दछ । यसका लागि जीवन जीउने कलाका बारेमा उ आफै अग्रसर भै ज्ञान हासिल गरी प्रतिस्पर्धात्मक क्षमता विकास गर्नु पर्दछ ।

अर्कोतर्फ कर्मचारीहरुले पनि काम खोजेर गर्नुप¥यो र माथिल्लो नेतृत्वले पनि उच्च मनोवलका साथ मातहतका कर्मचारीहरुलाई नियमित बिफ्रिङ लिईराख्नु पर्दछ । सबैको ध्येय काम गरौं, परिवर्तन गरौं भन्ने भावना भयो भने काम प्रशस्त छ । “राजाको काम कहिले जाला घाम” भन्ने हो भने कसैको केही लाग्दैन । प्रधानमन्त्रीको एउटा निर्देशनले नेपाल सरकारका सचिवज्यूहरुले १५ घण्टा काममा खटेको उदाहरणहरु पनि छन् । नेपाल सरकारका सचिवले आफू मातहतका निकायहरुलाई सोही अनुसार काममा खटाउनु पर्ने हुन्छ । भएको कामको पनि डकुमेन्टेशन, प्रचार प्रसार भएको छैन, नराम्रो कुराको मात्र प्रचार भएको छ । राजनीतिलाई दोष दिने तर आफ्नो जिम्मेवारी निर्वाह नगर्नु नै चुरो कुरो हो ।

कर्मचारीहरु कार्यालय वरपरै वा कार्यकक्षमै भेटिए पनि कता कता अलमलिए जस्तो, ध्यान नै भंग भएजस्तो देखिन्छन् यो चिडचिडाहटको कारण के हुन सक्छ ?
सेवा प्रवाहमा प्रत्यक्ष संलग्न कर्मचारीहरु तोकिएको स्थानमा बस्नु नै पर्दछ । जब सेवाग्राहीले उसलाई भेट्छ तब नै सेवा लिन सक्छ, नत्र सेवा प्रवाहमा समस्या आउँछ । कुनै काम विशेषले तोकिएको कर्मचारी अनुपस्थित हुँदा वैकल्पिक व्यवस्था गरिएकै हुन्छ । कर्मचारी नभए सेवाग्राहीको कामै रोकियो भन्ने कुरा सकेसम्म नहोस भन्ने व्यवस्था गरिएको हुन्छ । एकाध घटना बाहेक ।

 


भएको कामको पनि डकुमेन्टेशन, प्रचार प्रसार भएको छैन, नराम्रो कुराको मात्र प्रचार भएको छ ।

कुनै कर्मचारीहरुले सेवाग्राहीको सेवा पु¥याउनु पर्ने कामका अतिरिक्त उसका कार्यालयसँग सम्बन्धित जिम्मेवारीहरु समेत हुन्छन । ती जिम्मेवारीहरु पनि सँगसँगै निर्वाह गर्नुपर्दा उ कार्यकक्षमा भेटन नसकिएको हुन्छ । जस्तै प्रमुुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नगरपालिकाको कार्यकारी अधिकृत उनीहरु कार्यालयको जिम्मेवारी सहित उनीहरुले अध्यक्षता गर्ने समितिको कार्यसम्पादन पनि सँगसँगै लैजानु पर्ने हुन्छ । त्यस्तै मन्त्रालयको सचिव, महाशााखा प्रमुख, विभागी प्रमुखहरु जसले बैठक, छलफलमा समेत सहभागिता जनाउनु पर्ने भएको हुँदा कार्यकक्षमा नभेटिएको अवस्था हो । यसका अतिरिक्त हाम्रो स्मार्ट कार्यप्रणाली, कार्यशैली, अधिकार प्रत्यायोजन, समय व्यवस्थापनको अभाव लगायत छरितो व्यवस्थापकीय प्रणालीको अभावको कारण पनि यसो हुन गएको हो ।

तै पनि कर्मचारीहरु बेखुसी देखिनुको कारणहरु के के देख्नुहुन्छ ?
धेरै जसो कर्मचारीहरु मूलत निम्न लिखित कारणले बेसुखी देखिन्छन् । उनीहरुमा चिडचिडाहट देखिन्छ । त्यसो हुनुमा मुख्य तीनवटा कारण छन् जस्तो लाग्दछ मलाई ।

१) व्यक्तिगत कारण: कर्मचारी पनि सामाजिक प्राणी भएको हुँदा उसका व्यक्तिगत, सामाजिक, संगठनात्मक सम्बन्ध, व्यक्तिगत गुण, तनाव, समय, ज्ञान, टीम, व्यवस्थापनको अभाव, जीवन जीउने कलाका बारेमा जानकारी अभावका साथै व्यस्त जीवन शैली होइन की अस्तव्यस्त जीवन शैलीका कारण कर्मचारी सुखी देखिदैन ।

२) संगठनात्मक कारण: संगठनमा हुने अन्यायपूर्ण व्यवहार, अवसरको न्यायोचित वितरणको अभाव, संगठनको आन्तरिक कार्यवातावण, स्रोत र साधनको न्यायोचित वितरणको अभाव लगायतका जस्ता कारण रहेका छन् ।

३) अन्य कारणहरुमा: वृति विकास, मौद्रिक तथा गैर मौद्रिक तत्व, अनावश्यक दवाव, कर्मचारीहरुको क्षमता लगायतका कारणले गर्दा कर्मचारीहरु खुशी नदेखिएका हुन् । कर्मचारी परिवर्तनको संवाहक हो ऊ हरहालतमा खुसी र तत्परताका साथ सेवा प्रवाहमा जुट्नु पर्दछ । यसका लागि जीवन जीउने कलाका बारेमा उ आफै अग्रसर भै ज्ञान हासिल गरी प्रतिस्पर्धात्मक क्षमता विकास गर्नु पर्दछ । संगठनले पनि सकारात्मक कार्यवातावरण बनाउनुपर्दछ ।

किन गुनासै गुनासोको पोको बन्दैछ कर्मचारी प्रशासन ?
कर्मचारीहरुमा स्वः व्यवस्थापन, स्वः चिन्तनको अभाव छ । हाम्रो शिक्षा प्रणालीमा आध्यामिक ज्ञान, स्वः व्यवस्थापन, स्वः चिन्तन र माइण्ड म्यानेजमेट सम्बन्धी विषय मिसिङ्ग भयो । जबसम्म व्यक्तिले आफ्नो जीवनशैली सन्तुलित, व्यवस्थित, असल आचरण भित्र सीमावद्ध गर्दैन, तबसम्म यो प्रवृति रहि नै रहन्छ । कर्मचारीहरुमा आफू कसरी क्षमतावान बन्ने भन्दा पनि अरु क्षमतावान भए, अरुले कमाए भन्ने मैले कमाउन सकिन भन्ने भावनाले पनि काम गरिरहेको छ । कर्मचारीहरुमा आत्मसम्मानको अभाव रहेको छ । कर्मचारी गुनासै गुनासोको पोको बन्नुमा सर्वप्रथम उ आफै भागिदार त्यसपछि मात्र संगठन, सरकार, समाज आदि इत्यादी हुन् । कर्मचारीहरुले विद्यमान असहज परिस्थिति भित्र नै सहजता खोज्ने हो । मलाई सबै पक्ष अनुकुल हुन्छ र म गुनासो रहित हुन्छु भन्नु भन्दा पनि असहज अवस्थामा नै सहजता खोज्नु राष्ट्र सेवकको कर्तव्य हो । यसका अतिरिक्त अरु कारण पनि छन

कर्मचारीका केही व्यवहारजन्य समस्या पनि छन् नि !
हो, यसका अतिरिक्त केही व्यवहारजन्य समस्या पनि रहेका छन् । हामीले प्रशासन सुधार गर्दा संगठनात्मक संरचना, नीति नियम, सेवाका शर्त लगायतका विषयमा ध्यान दियौं । तर व्यवहारतः कर्मचारीहरुले व्यवहारलाई मोडिफिकेशन सम्बन्धी ठोस उपाय अवलम्वन गर्न नसक्दा यस प्रकारका समस्या आउने गरेका हुन् । नेपालको कर्मचारीतन्त्रको मुख्य समस्या भनेको व्यवहारजन्जय समस्या नै हो । नेपाली कर्मचारीतन्त्रमा सेवाग्राही सापेक्ष व्यवहार छैन । व्यवहार परिवर्तनका औजारको प्रयोग र आधुनिक सूचना प्रणालीको अधिकतम उपयोग नै यसको समाधान हो ।

कृष्णप्रसाद सोपकोटा सामान्य प्रशासन मन्त्रालयका उप सचिव हुन् ।

 

लेखकबाट थप

सवाल – सुशासनको

कर्मचारीको प्रमुख अभिभारा संविधान कार्यान्वयनमा सघाउनु नै हो

Tags :
प्रतिक्रिया दिनुहोस