काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान, घाइतेहरूको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार दिउँसो करिब २ः१५ बजे बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता र समन्वयमा उद्धार तथा उपचारको कार्य तत्काल अघि बढाइएको थियो। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारले घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई अनुसन्धानका लागि निर्देशन दिइसकेको पनि विज्ञप्तिमा जनाइएको छ। साथै घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले दुर्घटनाबाट प्रभावित परिवार र घाइतेहरूको साथमा रहेको उल्लेख गर्दै उद्धार, उपचार र अनुसन्धानका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।







