काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा रास्वपाका सांसदले अदालत सुधार, बिचौलियाको प्रभाव न्यूनीकरण र न्यायिक प्रणालीको कार्यक्षमता सम्बन्धी प्रश्न उठाएका छन् ।
सुनुवाइका क्रममा रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीले अदालत सुधार (रिफर्म) सम्बन्धी स्पष्ट कार्ययोजना प्रस्तुत गर्न आग्रह गरेका हुन् । उनले न्याय प्रणालीभित्र देखिने संरचनागत समस्या समाधानका लागि प्रस्तावित नेतृत्वको दृष्टिकोण जान्न खोजेका थिए ।
बुर्लाकोटीले उजुरीकर्ताबाट प्राप्त गुनासाहरू सम्बन्धित निकायमा पठाइने अवस्थामा त्यसप्रति न्यायालयको प्रतिक्रिया र भूमिका कस्तो हुने भन्ने विषयमा पनि धारणा माग गरे ।
त्यसैगरी उनले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै मुद्दा फर्स्योट दर कसरी बढाउने भन्नेबारे पनि प्रश्न राखे ।
उनको प्रश्नमा अदालतभित्र बिचौलियाको प्रभाव कसरी नियन्त्रण गर्ने र न्याय प्रणालीलाई विकासमैत्री तथा जनविश्वासयोग्य बनाउने रणनीति के हुने भन्ने विषय प्रमुख रूपमा समेटिएको थियो ।







