काठमाडौँ । सरकारले २०८७ सालभित्र देशभरका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यसहित एकीकृत खानेपानी कार्यक्रम अघि बढाउने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमार्फत खानेपानी आयोजनाहरू सञ्चालन गरिने बताएका हुन्।
सरकारले खानेपानीको गुणस्तर सुनिश्चित गर्न देशभर पानी परीक्षण प्रयोगशाला स्थापना गर्ने नीति लिएको छ। जलवायु परिवर्तनका असर न्यूनीकरण तथा पानीका स्रोत संरक्षणका लागि वर्षाको पानी संकलन र दिगो व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसैगरी सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने नयाँ रणनीति अघि सारेको छ। ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणाअनुसार नेपाली पानीलाई विश्व बजारमा विशिष्ट पहिचानसहित ब्रान्डिङ गरिने राष्ट्रपति पौडेलले बताएका छन्।
सरकारले यो योजनामार्फत स्वच्छ खानेपानी पहुँच विस्तारसँगै नेपाली जलस्रोतको आर्थिक सम्भावना उपयोग गर्ने लक्ष्य राखेको जनाएको छ।







