काठमाडौं । सरकारले विद्यालय तहदेखि नै वित्तीय साक्षरता तथा आर्थिक आत्मनिर्भरतासम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले बचत, लगानी, आर्थिक अनुशासन तथा उद्यमशीलतासम्बन्धी चेतना विद्यालय तहबाटै विकास गर्ने उद्देश्यसहित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको हो ।
त्यसैगरी, खेल क्षेत्रको व्यावसायीकरण, निजी क्षेत्रको सहभागिता विस्तार तथा खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने पनि सरकारले जनाएको छ । खेल पूर्वाधार विकाससँगै खेलाडीको पेशागत सुरक्षा र अवसर वृद्धि गर्ने लक्ष्य सरकारको छ ।







