काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पुराना राजनीतिक दलप्रति देखिएको जनअसन्तुष्टिको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
१७३औँ विश्व मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले राजधानीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले विगत लामो समय सत्तामा रहेका दलहरूको कमजोरीकै पृष्ठभूमिमा नयाँ राजनीतिक शक्ति रास्वपाजस्ता दलहरूको उदय भएको स्वीकार गर्नुपर्ने धारणा राखे।
उनका अनुसार काँग्रेस-एमालेले करिब ३६ वर्ष र आफूहरू १८ वर्षसम्म सत्तामा रहँदा भएका कमजोरीकै कारण समाजमा लोकप्रियतावादी प्रवृत्ति विस्तार भएको हो।
यस वास्तविकताप्रति इमानदार समीक्षा नगरेसम्म पुराना दलप्रति जनविश्वास पुन:स्थापित हुन कठिन हुने उनले बताए।
पुनले पुराना दल, नेतृत्व र लोकतान्त्रिक संस्थाप्रति बढ्दो आलोचनाको कारण जनता किन सकारात्मक प्रतिक्रिया दिन थाले भन्ने विषयमा गहिरो विश्लेषण आवश्यक रहेको उल्लेख गर्दै त्यसो नगरे राजनीतिक समर्थन फर्किने सम्भावना कमजोर हुने चेतावनीसमेत दिए।
विश्व राजनीतिमा उदार लोकतान्त्रिक प्रणाली कमजोर हुँदै जाँदा नवउदारवादी सोचसँगै लोकप्रियतावादी प्रवृत्ति बढिरहेको उनले टिप्पणी गरे। सोही प्रवृत्तिको प्रभाव नेपाली राजनीतिमा पनि देखिएको उनको भनाइ थियो।
उनले नेपालमा देखिएको लोकप्रियतावाद बहुसंख्यकवादतर्फ झुकाव राख्ने र उच्च वर्गीय हितमा केन्द्रित हुने भएकाले अल्पसंख्यक, अल्पमत तथा विपन्न वर्गप्रति असंवेदनशील हुने जोखिम बढेको दाबी गरे। पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने कार्यले राज्य धनी र सम्भ्रान्त वर्गको पक्षमा उभिन थालेको संकेत दिएको आरोप पनि उनले लगाए।
उनले राजनीतिक मतभेद भए पनि संविधान, वर्तमान व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणमा रहेका वाम तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य र एकताको आवश्यकता औँल्याए।
यद्यपि अहिले पुराना दल र नेताको भनाइ तत्काल प्रभावकारी नदेखिए पनि क्रमशः समाजले पुनः सुन्ने अवस्था बन्न सक्ने विश्वास उनले व्यक्त गरे।







