काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहले आज बैठक बस्दैछ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बैठकमा बोलाइएको छ ।
धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको संस्थापनइतर समूहले जनाएको छ ।
बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी वैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको २८–३१ वैशाखमा १५ औं महाधिवेशनको कार्यतालिका पारित भएको थियो ।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने निवर्तमान कार्यवाहक सभापति खड्काले तयारी गरेका छन् ।







