काठमाडौँ । सहकारीको रु. १८ करोड ७६ लाख चार हजार ५३२ अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका-७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
एक सय तीन बचतकर्ताद्वारा सहकारीका १७ सञ्चालकलगायत सम्बद्धविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमार्फत जिल्ला अदालत धुलिखेलमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको हो ।
बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोकले अभियोग दर्ता गराएको जनाइएको छ ।
जिल्ला न्यायाधिवक्ता टीकाभुषण घिमिरेका अनुसार दर्ता मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई पीडितको बचत रकम फिर्ता गराउन अभियोगमा माग गरिएको छ । आरोपित भने सबै फरार छन् । सहकारी ठगी अभियोगमा सहकारीका सञ्चालक समिति, कर्मचारी तथा पूर्वअध्यक्षहरूसमेत गरी १७ जना संलग्न भएको उल्लेख गरिएको छ ।
अभियोग दर्तामा सहकारीका अध्यक्ष भुम्लु गाउँपालिका घर भई बनेपा बस्ने ४३ वर्षीय पानबहादुर श्रेष्ठ, उपाध्यक्ष पनौती नपा-७ की ५१ वर्षीया विन्देश्वरी कायस्थ मधिकर्मी, प्रबन्ध निर्देशक एवं व्यवस्थापक भक्तपुर सूर्यविनायक नपा-८ का ३९ वर्षीय राजाराम सकुपायो, सञ्चालकहरू भक्तपुर सुर्यविनायक-८ कै ३९ वर्षीया लक्ष्मीकुमारी श्रेष्ठ, सिन्धुपाल्चोकका ३२ वर्षीय रुकेश श्रेष्ठ लेखाप्रमुख भक्तपुर सिपाडोल निवासी ३५ वर्षीया प्रमिला मानन्धर रहेका छन् ।
यस्तै ऋण अधिकृत बनेपा–९ का ३६ वर्षीय रामसुन्दर बस्नेत, सञ्चालकहरू बनेपा-४ का ४० वर्षीय जयगोपाल श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ४१ वर्षीय कृष्णप्रसाद घिमिरे र बनेपा-४८ का ३३ वर्षीय मनिष श्रेष्ठ, बजार अधिकृत बनेपा–७ का ३५ वर्षीय प्रदीप शाहीलगायत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले भने सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई प्रहरीले आफूले लिएको ऋण तिर्न अनुरोध गर्दै आएको छ । प्रहरीले हालैमात्र उक्त पशुपति सहकारी बनेपा नपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिएको थियो ।
जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले हालसम्म बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको छ । उजुरीमध्ये सहकारीको रकम अपचलन अभियोग लागेका २६ जना पक्राउ परेको जनाइएको छ । अभियोग लागेकामध्ये ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ ।







