काठमाडौँ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनार विरुद्ध भ्रष्टाचारसम्बन्धी तीन वटा मुद्दा दायर गरिएको छ। आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सुनारले यसअघि यातायात व्यवस्था कार्यालय, बाँकेको प्रमुख रहँदा अनियमित गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।
मुद्दाहरूको विवरण अनुसार चोरीका सवारी साधनसम्बन्धी अभिलेख मिलेमतोमा दर्ता गरिएको आरोपसहित एउटा मुद्दा दायर भएको छ भने सवारी चालक अनुमतिपत्रको परीक्षाको नतिजा परिवर्तन गरी लाइसेन्स वितरण गरिएको आरोपमा दुई वटा छुट्टाछुट्टै अभियोग दर्ता भएका छन्। प्रकरणबारे न्यायिक प्रक्रिया अगाडि बढेको सम्बन्धित निकायले जनाएको छ।







