काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा फेरि जिते अधुरा काम पूरा गर्ने बताएका छन् ।
भक्तपुर–२का उम्मेदवार समेत रहेका बस्नेतले मतदातासँग मंगलबार भेटघाट गर्दै २०७४ मा आफू निर्वाचित हुँदा विकासको आँधीबेहरी ल्याएको दाबी गरेका छन् । यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले फेरी जिताउन आग्रह समेत गरे ।
उनले भने, ‘२०७४ सालको निर्वाचनमा भक्तपुर–२ का तपाईँ मतदाताहरूले मलाई मत दिएर विजयी गराउनुभयो । त्यो जितपछि पहिलो पटक विकासको आँधीबेहरी ल्याएँ । बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्की बनाएँ । सबै खोलामा पुल बनाएँ, मठ–मन्दिर, सम्पदा पुर्ननिर्माण भए ।’
भूकम्पले भत्किएका विद्यालयहरू पुनर्निर्माण पनि आफू सांसद भएकै बेला भएको उनले दाबी गरे ।
०७४ देखि २०७९ सम्म आफू सांसद हुँदा सुरु गरेका विकास कैयौँ काम अझै अधुरा रहेकाले ती काम पूरा गर्ने अवसर दिन बस्नेतले मतदातासँग आग्रह गरे । उनले भने, ‘विगतमा पूरा गर्न बाँकी रहेका केही काम अझैँ अधुरा छन् । ती काम पूरा गर्न म फेरि पदमा पुग्नुपर्छ । भक्तपुरको विकासलाई पूर्णता दिन एकपटक फेरि जिताइदिनुस् ।’







